इटहरी : इटहरी उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयरसहितका जनप्रतिनिधि र कर्मचारीबीच टसल परेको छ ।
दुई दिनअघि इटहरी उपमहानगरपालिकाकी कार्यवाहक मेयर संगीता कुमारी चौधरीले प्रशासन शाखा प्रमुख सञ्जीव खड्कालाई दुव्र्यवहार गरेको भन्दै आइतबार कर्मचारीहरूले उपमहानगर परिसरमा आन्दोलन जनाए ।
जसअनुसार उपमेयर चौधरीलाई कर्मचारीहरूले ४८ घण्टाभित्रमा माफी माग्नुपर्ने अल्टिमेटम दिएका छन् । तोकिएको अवधिभित्र माफी नमागे थप आन्दोलन चर्काउने प्रशासन प्रमुख खड्काले बताए ।
खड्काका अनुसार यसबारे मेयर हेमकर्ण पौडेललाई आइतबार ज्ञापनपत्रसमेत बुझाइएको छ । इटहरीका मेयर पौडेल पारिवारिक कामले नेपालबाहिर गएपछि उपमेयर चौधरीलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका थिए ।
कार्यबाहकको जिम्मेवारी पाएकी चौधरीसहित एमालेबाट निर्वाचित केही वडाध्यक्षसहित शुक्रबार प्रशासन शाखामा पुगेर खड्कामाथि दुव्र्यवहार गरेको कर्मचारीहरूको आरोप छ ।
चौधरीले प्रशासन शाखामा तालाबन्दीसमेत गरेकी थिइन् । कर्मचारीहरूले प्रशासन शाखामा लगाएको ताला भने आपसी सहमति र संवादबाट खोल्नुर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
खासगरी प्रशासन प्रमुख खड्काको हस्ताक्षरमा केही दिनअघि कर्मचारी सरूवा गरिएको विषयलाई लिएर उपमेयरसहितका जनप्रतिनिधिले दुव्र्यहार गरेको बताइएको छ ।
सरूवा गरिएका कर्मचारीलाई सम्बन्धित वडामा हाजिर हुन ताकेता गरेको र वडाहरूको इन्टरनेट सर्भर डाउन गराएको विषयमा टसल भएको बताइन्छ ।
इटहरीमा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीच पटकपटक विभिन्न विषयमा विवाद हुने गरेको छ ।
२० वटा वडा रहेको इटहरीमा कांग्रेसबाट मेयरसहित पाँच वटा वडाध्यक्ष जितेको छ भने एमालेबाट उपमेयरसहित १५ वडा वडाध्यक्ष जितेको छ ।














Discussion about this post