इटहरी : १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब (राजा)ले शनिबार पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो ।
आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगिता इटहरी रंगशालामा दिनको २ः३० बजेदेखि हुनेछ ।
गोल्डकपमा आठ वटा टिम सहभागी छन् । जसअनुसार उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)बीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ भने फागुन ६ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक अनुरोध थापाले जानकारी दिए ।
फागुन ३ गतेको विजेता टिम र ५ गतेको विजेता टिमबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने फागुन ४ र फागुन ६ गतेको विजेता टिमबीच प्रतिस्पर्धा हुने थापाले बताए ।
उनका अनुसार खेलको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद् संरक्षक रहेका छन् ।
प्रतियोगितामा दर्शकले एक सय रुपैयाँको टिकट काटेर प्रवेश गर्न पाउने आयोजकले जनाएको छ ।














Discussion about this post