धरान : धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग समीरण पूरा भएको छ ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूबीच भएको समूह चरणको लिगमा समूह विजेता टिमहरू सुपर लिग (अन्तिम चार)मा प्रवेश गरेका छन् ।
समूह ए बाट पाँचथर युनाइटेड, बी बाट गाइघाट फुटबल क्लब, सी बाट देउराली युथ क्ल्ब र समूह डी बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन् ।
आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार धरान रंगशालामा भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समूह विजेता बनेको हो ।
यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी ३ अंक बटुलेको थियो । कुल ४ अंक भएको बुइपा समूह विजेता हुँदा धरानको एक अंक र प्रगतिशीलले भने अंक जोड्न सकेन ।
बुइपाका लागि डिकेन राई र मिलन राईले गोल गरे । एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन राई म्यान अफ द म्याच घोषित भए । उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।
यसअघि बुइपाले ताप्लेजुङको भने धरान र प्रगतिशलबीचको खेलमा दुवै टोलीले खेल नियम विपरीतका खेलाडी समावेश गरेपछि दुवै टोलीको अंक खोसिएको थियो ।
धाइजन चारआली पनि कारबाहीमा
झापाको धाइजन चारआली फुटबल क्लबले पनि नियम विपरीतका खेलाडी समावेश गरेपछि समूह सी अन्तर्गत भएको खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गरे पनि धाइजन चारआलीको अंक खोसिएको थियो भने नियमानुसार देउरालीले ३ अंक प्राप्त गरेको थियो ।
देउरालीले बिहीबार भएको खेलमा इलामको रेड हर्ष क्लबलाई १–० ले पछि पारेपछि ६ अंकका साथ समूह विजेता हुँदै देउराली सुपर लिगमा पुगेको थियो । यसअघि नै पाँचथर र गाइघाट समूह विजेता हुँदै सुपरलिगमा प्रवेश गरिसकेका थिए ।
यता समूह सी अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा इलामको रेड हर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
धाइजनका लागि सागर रसाइली र पुजन थापाले गोल गरे भने रेड हर्षका लागि विनोद धमला र सांगे शेर्पाले गोल गरे । रेड हर्षका गोलकर्ता विनोद धमला म्यान अफ द म्याच घोषित हुँदै पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता थियो । अब आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिस्पर्धा गर्ने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राइले जानकारी दिए ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।














Discussion about this post