विराटनगर : विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजवाफ प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले बाहिरी ज्ञान पनि हासिल गर्नु जरुरी रहेको औंल्याए ।
उनले हरेक शुक्रबार महानगर क्षेत्रका विद्यालयलाई ‘बुक फ्रि डे’ का रूपमा अघि सारिएको जानकारी दिए । शुक्रबार पाठ्यपुस्तकको अध्ययनभन्दा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने नीति अघि सारिएको उनको भनाइ थियो ।
‘रूचिअनुसार शुक्रबार विद्यार्थीले आफूलाई प्रस्तुत छन् । खेलकुदमा रूचि भएकाले खेलकुदमा भाग लिन्छन् । साहित्यमा रूचि भएकाले साहित्य सिर्जना वाचन गर्छन् । गीतसंगीतमा रूचि भएकाले गीत गाउँछन्,’ मेयर कोइरालाले भने, ‘यसले आफ्नो रूचिअनुसार विद्यार्थीले आफूलाई निखार्छन् ।’
अध्ययनसँगै अन्य क्षेत्रमा लागेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा विद्यार्थी र अभिभावले बुझ्नु जरुरी रहेको उनले बताए । मेयर कोइरालाले प्रविधिमैत्री शिक्षालाई महानगरले जोड दिइरहेको उल्लेख गरे ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका ५४ वटा विद्यालयका विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले २१, द्वितीय हुनेले १५ र तृतीय हुने विद्यालयले १२ हजार र सान्त्वनाले ६ हजार नगद राशिसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।
प्रतियोगिता विगत ७ वर्षदेखि जारी रहे पनि यसपटकदेखि भने रनिङ शिल्डका रूपमा सुरू भएको हो ।
अब प्रथम हुनेले १६ तोलाको चाँदीको जलप र महानगरको लोगो कुँदिएको शिल्ड प्राप्त गर्नेछ ।
लगातार तीनपटक प्रथम हुने विद्यालयले सो शिल्ड सधैंका लागि प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको विराटनगर–७ स्थित बाल मन्दिरका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले जानकारी दिए ।














Discussion about this post