धनकुटा : धनकुटा जिल्लामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा असार १ गतेदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्दै यात्रुहरूको सुरक्षित यात्राका लागि भेडेटारदेखि सिधुवा सम्मको कोशी लोकमार्ग अन्तर्गतको रुटमा उक्त व्यवस्था गरिएको हो।
टाईम कार्ड लागूको औपचारिक शुभारम्भ साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा एक कार्यक्रमबीच सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल प्रमुख अतिथि थिए।
पोख्रेलले सवारी साधनमा टाईम कार्ड लागू भएपछि दुर्घटनाको दर घट्ने विश्वास व्यक्त गरे। साथै, चालकहरूलाई यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै निर्धारित समय तालिकाअनुसार सवारी सञ्चालन गर्न अनुरोध गरे।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले तिव्र गतिको कारण हुने दुर्घटना नियन्त्रण गर्न र ट्राफिक व्यवस्थापन सुधार गर्न टाईम कार्ड प्रणाली सुरु गरिएको जानकारी दिए।
उनले यो प्रणाली प्रभावकारी बनाउन चालक, सहचालक तथा यातायात व्यवसायी सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, नेपाली सेना भीम दल गण सल्लेरी ब्यारेक धनकुटाका सेनानी गणेश थापा, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सप्रनाउ मदन नाथ, राष्ट्रिय अनुसन्धान विभाग धनकुटाका प्रमुख रुद्र बहादुर गुर्बछान, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक र स्थानीयको उपस्थिति रहेको थियो।



















Discussion about this post