इटहरी : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीहरूलाई परीक्षा फारम भर्ने क्रममा गल्ती नगर्न विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।
काठमाडौँसम्म धाइराख्नुपर्ने झन्झट हटाएर ट्रान्सक्रिप्ट अब सम्बन्धित क्याम्पसबाटै निकाल्न सकिने व्यवस्था लागू गरेसँगै, परीक्षा नदिए पनि कक्षा अपग्रेड हुने निर्णयले थप जिम्मेवार ढंगले फारम भर्ने आवश्यकता झनै बढेको छ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार फारममा नाम, विषयको कोड, भर्ना मिति लगायतका आधारभूत विवरणमा हुने सामान्य गल्तीले पनि ठूलो समस्या निम्त्याउने गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित “आईटी तालिम तथा अनलाइन डकुमेन्ट इन्ट्री” कार्यक्रममा जोशीले भने, “विद्यार्थी आफैंले गल्ती गरेर त्रिविलाई दोष दिने प्रवृत्ति अन्त्य हुनुपर्छ । नाम त्रुटि भए तुरुन्तै निःशुल्क सच्याउन सकिन्छ।”
नयाँ प्रणालीअनुसार विद्यार्थीले परीक्षा फारम भरेपछि परीक्षा नदिए पनि कक्षा ‘अपग्रेड’ हुने व्यवस्था लागू गरिएको छ। पहिलेजस्तो कम्तीमा एक विषयको परीक्षा दिएर मात्र उक्लिन पाउने नियम खारेज भएको जोशीले जानकारी दिए।
तर, यसले पढाइप्रतिको ध्यान कमजोर बन्ने सम्भावना भएकाले क्याम्पस, शिक्षक र विद्यार्थी सबैले मिलेर सचेत रहनुपर्ने उनले बताए।
जोशीका अनुसार, पछिल्लो समय त्रिविले परीक्षा प्रणालीमा सुधार ल्याउने योजनाअनुसार पाँचवटा प्रदेशीय परीक्षा नियन्त्रण कार्यालय स्थापना गरिसकेको छ।
उनले कोशी प्रदेशको विराटनगरस्थित कार्यालयलाई अन्य प्रदेशका लागि नमुना बनाउने लक्ष्य राखिएको जानकारी दिए।
त्रिविको कोर्षअनुसार दुई वर्षे कोर्ष भए ६ वर्षभित्र, तीन वर्षे भए ७ वर्षभित्र र ४ वर्षे कोर्ष भए ८ वर्षभित्र पासआउट भइसक्नुपर्ने उनले स्मरण गराए । खासगरी कुनै पनि विषयमा अध्ययनरत विद्यार्थीले रेगुलर पास नभए थप ४ वर्षभित्र पास गर्नुपर्ने व्यवस्था छ । सो कुरालाईसमेत मध्येनजर गर्दै परीक्षा फारम भर्दा त्रुटि गर्न नहुने र सो कुरा परीक्षा शाखाले हेर्नुपर्ने उनले बताए ।
‘भर्ना वर्ष कहिले हो ? यो राम्ररी हेर्नुपर्छ । यसअघि कम्तिमा एउटा परीक्षाको उत्तरपुस्तिकामा उपस्थित हुनुपर्ने भएपनि अब भने आवेदन फारम भरेपछि कक्षा अपग्रेट हुन्छ,’ परीक्षा नियन्त्रक जोशीले भने ‘प्रथम वर्षमा भर्ना भएर फारम भरेपछि परीक्षा नै नदिएपनि कक्षा अपग्रेट हुन्छ ।’
तालिममा अनलाइन डेटा प्रविष्टि, गल्ती न्यूनीकरण र विद्यार्थी विवरण व्यवस्थापनबारे प्राविधिक ज्ञान दिइएको थियो।
कार्यक्रममा त्रिविका डा. गोविन्द प्रसाद गुरागाईं, क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसी लगायत कोशी प्रदेशका विभिन्न क्याम्पसबाट परीक्षा शाखामा कार्यरत कर्मचारी तथा प्राध्यापकहरूको उपस्थिति थियो।














Discussion about this post