विराटनगर : २४ भदौमा ‘जेनजी आन्दोलन’का क्रममा विराटनगर महानगरपालिकाले भौतिक संरचना र जिन्सी सामग्रीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति बेहोरेको छ।
महानगर प्रमुख नागेश कोइरालाका अनुसार प्रशासनिक भवनसहित वडा नं. १ देखि १२ र १९ सम्मका कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार भौतिक संरचना तर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति पुगेको छ।
त्यस्तै, जिन्सी सामग्रीतर्फ स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द तथा कार्यालय सञ्चालनका उपकरणहरूमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको क्षति भएको महानगरले जनाएको छ।
मेयर कोइरालाका अनुसार वित्तीय हिसाबले मात्रै होइन, जनताको महत्वपूर्ण कागजपत्रहरू जलेर नष्ट हुनु नै सबैभन्दा ठूलो क्षति हो।
‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रूपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।’
मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए । सेवाप्रवाहमा भने कुनै कमी हुन नदिएको उनको भनाइ थियो ।
आगजनीपछि महानगरले सेवाप्रवाहमा अवरोध हुन नदिन टेन्टमार्फत कार्यालय सञ्चालन गरिरहेको छ।
उप–मेयर शिल्पा निराला कार्कीका अनुसार कार्यालय भवन पुनःनिर्माण नहुँदासम्म न्यायिक समितिको इजलास पनि टेन्टमै बसिरहेको छ। ‘प्रत्येक सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुन्छ,’ उनले भनिन्।
प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालका अनुसार प्राविधिक जाँचपछि सुरक्षित भवनहरूमा रंगरोगन, विद्युत र इन्टरनेट जडानका काम तीव्र गतिमा भइरहेको छ।
महानगरका सबैजसो सेवाहरू अहिले पूर्ववत रूपमा सञ्चालनमा आएको उनले बताए ।













Discussion about this post