इटहरी : इटहरी उप–महानगरपालिका वडा नम्बर ९ स्थित रंगशाला परिसरभित्र इलाका प्रहरी कार्यालयको पुनर्स्थापित भवन उद्घाटन गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय इटहरीको भवन आगजनीका कारण पूर्ण रुपमा ध्वस्त भएको थियो ।
कार्यालय ध्वस्त भएपछि विस्थापित बनेको प्रहरीको टोलीले झण्डै तीन महिना इटहरी–२० तरहराको चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गरेको थियो ।
पछि इलाका प्रहरी कार्यालय इटहरी भवन पुनर्स्थापना सहयोग समिति गठन गरी निर्माण कार्य थालिएको थियो ।
भवन मर्मत तथा निर्माण कार्यमा कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।
जसमध्ये इटहरी उपमहानगरपालिकाबाट ४४ लाख ३७ हजार ५२ रुपैयाँ र उपभोक्ता समितिबाट ९ लाख ४३ हजार १२५ रुपैयाँ योगदान रहेको बताइएको छ ।
बुधवार वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाको अध्यक्षतामा इटहरी उप–महानगरपालिका प्रमुख हेमकर्ण पौडेलले भवन उद्घाटन गरे ।
कार्यक्रममा इटहरीकी उप–प्रमुख संगीता कुमारी चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवे, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमाललगायतको उपस्थिति रहेको थियो ।
डीएसपी हमालले पुनर्स्थापित भवनबाट सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । उद्घाटन समारोहसँगै भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।














Discussion about this post