इटहरी : पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा शनिबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।
इटहरी वडा नं. ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा जलथल फुटबल क्लब हल्दिबारी, झापालाई हराउँदै केराबारी फुटबल क्लब विजयी भएको हो ।
खेलमा केराबारीले ३–० गोल अन्तरले जलथल क्लब झापालाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
केराबारीका तर्फबाट खेलको पहिलो हाफको १३ मिनेटमा ओसिन राईले पहिलो गोल गरे । खेलको दोस्रो हाफको ११ मिनेटमा भूवन बस्नेत र ३९ औं मिनेटमा अनिल परियारले गोल गरे ।
खेलमा ओसिन म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार पाँच सय प्राप्त गरे ।
केराबारी फुटबल क्लबले खेल अवधिमा आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो ।
गोलरक्षक र डिफेन्डरको मजबुत प्रदर्शनले पनि केराबारीको जित सुनिश्चित गर्न सफल भयो । जलथल क्लब झापाले अपेक्षाकृत खेल प्रदर्शन गर्न नसक्दा लज्जास्पद हार बेर्होनुप¥यो ।
आइतबारको खेल बसाहा क्लब बसाहा, उदयपुर र न्यू स्टार क्लब बराहक्षेत्र सुुनसरीबीच हुनेछ ।
द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टिमलाई दुई लाख दुई हजार दुई सयमा चित्त बुझाउनेछ ।
खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई नगद रकम प्रदान गरिनेछ ।
प्रतियोगितामा केराबारी फुटबल क्लब मोरङ, जलथल फुटबल क्लब हल्दिबारी झापा, लोहोरुङ एफसी संखुवासभा, चुतन स्पोर्टिङ क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यू स्टार क्लब बराहक्षेत्र, आयोजक द योङ ब्रदर्श क्लब र भारतको कञ्चनजङ्गा फुटबल क्लब गरी आठ वटा टिम सहभागी भएको क्लबका संरक्षक विकास केसीले बताए ।
खेलकुद प्रतियोेगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र महेताले गरेका थिए ।












Discussion about this post