इटहरी : प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र आफ्नो परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोमा उजुरी दिएका छन्।
साम्पाङले दिएको निवेदनअनुसार टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै समाजमा भ्रम फैलाउने गतिविधि गरिएको उल्लेख छ। उजुरीमा ‘सुनिता खड्का’ नामक टिकटक प्रयोगकर्तामार्फत यस्तो कार्य भएको दाबी गरिएको छ।
उनका अनुसार आफू मात्र नभई परिवारका सदस्यहरूलाई समेत ज्यान मार्ने धम्की दिइएको र घर जलाउने चेतावनीसमेत दिइएको छ। यस्ता गतिविधिले व्यक्तिगत सुरक्षा र सामाजिक प्रतिष्ठामा गम्भीर असर परेको साम्पाङले बताएका छन्।
उजुरीसँगै घटनासम्बन्धी स्क्रिनसट तथा आवश्यक कागजातहरू समेत पेश गरिएको छ। साम्पाङले सम्बन्धित व्यक्तिको पहिचान, ठेगाना तथा सम्पर्क विवरण पत्ता लगाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
घटनाबारे साइबर ब्यूरोले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
















Discussion about this post