इटहरी : इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजमा “अनुसन्धान लेख कसरी लेख्ने” विषयक तीनदिने अनुसन्धान लेखन कार्यशाला सुरु भएको छ।
अनुसन्धानमूलक लेखन क्षमता अभिवृद्धि गर्दै अनुसन्धान पत्रिका (जर्नलं प्रकाशन प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।
उद्घाटनसँगै अनुसन्धान लेखन, सन्दर्भ व्यवस्थापन, अनुसन्धानात्मक लेखको संरचना तथा जर्नल प्रकाशनसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण सत्रहरू सञ्चालन भएको हो।
उद्घाटन सत्रका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक प्रा. डा. गोविन्दप्रसाद गुरागाईं रहेका थिए। विशिष्ट अतिथिका रूपमा नेपाल पब्लिक क्याम्पस संघ कोशी प्रदेशका अध्यक्ष अर्जुनराज अधिकारी सहभागी थिए।
साथै, भासी क्याम्पस र सप्तकोशी क्याम्पसका क्याम्पस प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष मणिराम गिरी, पूर्व अध्यक्ष दलेन्द्र खड्का, निवर्तमान अध्यक्ष लिलादेवी राईलगायतको उपस्थिति रहेको थियो। कोशी प्रदेशका विभिन्न जिल्लाका १८ वटा क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको उद्घाटन सत्रको अध्यक्षता कलेज सञ्चालक समितिका अध्यक्ष खगेन्द्र गिरीले गरेका थिए।
कार्यशालामा प्रमुख सहजकर्ताका रूपमा डा. वन्दना जैन तथा सहजकर्ताका रूपमा डा. विष्णु खड्का, गुणराज नेपाल, शंकर देवान, अजुर्न अधिकारी र अर्जुन राई रहेका थिए।
उनीहरूले अनुसन्धान प्रस्तावना तयार गर्ने तरिका, तथ्याङ्क विश्लेषण, सन्दर्भ उद्धरण, अनुसन्धान लेखको ढाँचा तथा प्रकाशन प्रक्रियाबारे प्रशिक्षण प्रदान गरेको क्याम्पस प्रमुख दोर्णबहादुर न्यौपानेले जानकारी दिए।
राष्ट्रिय जनसहयोग कलेजले छिट्टै ‘आरजेसी जर्नल’ प्रकाशन गर्ने तयारी गरिरहेको न्यौपानेले जानकारी दिए। साथै कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रियामा जाने तयारीमा रहेको उल्लेख गर्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
आयोजकका अनुसार कार्यशालाले सहभागीहरूलाई गुणस्तरीय अनुसन्धान लेखन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।














Discussion about this post