धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ।
आगामी कात्तिक १९ गते आयोजना हुने महोत्सवसँगै प्रदान गरिने ‘विमल गुरुङ कृति पुरस्कार’का लागि नेपाली भाषामा प्रकाशित कृतिहरू दर्ता गर्न आग्रह गरिएको हो।
पुस्तकालय सञ्चालन समितिको मंगलबार बसेको पूर्ण बैठकले कविता महोत्सव र कृति पुरस्कारका लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ।
समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोका अनुसार कृति पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्ये निर्णायक मण्डलले प्रारम्भमा उत्कृष्ट १० कृति छनोट गर्नेछ। तीमध्येबाट उत्कृष्ट एक कृतिलाई ताम्रपत्र, दोसल्ला र नगद दुई लाख रुपैयाँसहित ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिनेछ।
पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले २०८२ सालभरि प्रकाशित आख्यान तथा गैरआख्यान विधाका नेपाली भाषाका पुस्तकहरू पुरस्कारका लागि योग्य हुने बताए।
नेपाल तथा विदेशमा रहेका लेखकहरूले आफ्ना पुस्तकका चार प्रति असोज १५ गतेभित्र धरान–१८ बुद्धचोकस्थित पुस्तकालयमा दर्ता गराइसक्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट ठहरिएका कवितामध्ये प्रथम, द्वितीय र तृतीय हुने स्रष्टालाई क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित नगद २१ हजार, १९ हजार र १८ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका लागि कविता पुस्तकालयको आधिकारिक इमेलमार्फत पठाउनुपर्ने जनाइएको छ।
यसै अवसरमा नगद १० हजार रुपैयाँसहित एक युवा स्रष्टालाई ‘विमल गुरुङ स्मृति पुस्तकालय प्रतिभा सम्मान’ पनि प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
कृति पुरस्कार, कविता महोत्सव तथा प्रतिभा सम्मानका विजेताहरूलाई कात्तिक १९ गते आयोजित विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सव समारोहमा सम्मान गरिनेछ।













Discussion about this post