इटहरी : सुनसरी प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका ६ लाख १४ हजार १०७ रुपैयाँ बराबरका विभिन्न अवैध सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएका टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको हो।
प्रहरीका अनुसार प्रहरी चौकी अमडुवाले बर्जु गाउँपालिका–४ बाट १ लाख ५ हजार रुपैयाँ बराबरको लत्ताकपडा र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका–५ बाट ३० हजार ९१० रुपैयाँ, अस्थायी प्रहरी पोष्ट सखुवागाछीले इनरुवा नगरपालिका–६ बाट ३० हजार रुपैयाँ, सीआरभी दुहवीले दुहवी नगरपालिका–३ बाट १० हजार ६९७ रुपैयाँ तथा प्रहरी चौकी श्रीपुरजब्दीले कोशी गाउँपालिका–५ बाट १० हजार ५०० रुपैयाँ बराबरको किराना सामग्री बरामद गरेको जनाएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–१ बाट ४ लाख २७ हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ।
बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ६ लाख १४ हजार १०७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको छ।













Discussion about this post