इटहरी : धेरैका लागि लोकसेवा आयोगको नाम निस्कनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ। स्थायी सरकारी जागिर सुरक्षित भविष्यको पर्याय मानिन्छ। तर, सबैले एउटै बाटो रोज्दैनन्। कसैले सुरक्षित भविष्यभन्दा आफ्नै सपना र समाजसेवाको बाटो रोज्छन्। इटहरीका औषधि व्यवसायी बलबहादुर न्यौपाने त्यस्तै पात्र हुन्।
लोकसेवा आयोग धनकुटाले लिएको सीएमएको चौथो तहमा नाम निस्किए पनि उनले सरकारी जागिरको नियुक्तिपत्र थन्क्याए र इटहरीमै बसेर औषधि व्यवसाय रोजे। आज त्यही निर्णयले उनलाई इटहरीका परिचित स्वास्थ्य व्यवसायी, सामाजिक अभियन्ताका रूपमा उभ्याएको छ।
१५ कात्तिक २०२९ सालमा मोरङको रतुवामाईमा जन्मिएका न्यौपानेले स्नातक अध्ययनसँगै फार्मेसी र सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट (सीएमए) अध्ययन गरेका हुन्। अध्ययनकै क्रममा उनले लोकसेवा आयोगको परीक्षा दिए र चौथो तहको सीएमए पदमा नाम निकाल्न सफल भए। त्यसपछि उनलाई संखुवासभामा नियुक्ति पनि दिइयो।
तर, त्यसबेलासम्म उनले इटहरीमा ‘इटहरी मेडिकल’ स्थापना गरिसकेका थिए। उनका अगाडि दुई विकल्प थिए– सरकारी जागिर कि आफ्नै व्यवसाय।
उनले दोस्रो विकल्प रोजे।
‘जागिर खान गएको भए जीवन अर्कै हुन्थ्यो होला। तर, दुई छाक खान त पुग्ला भन्ने भयो र व्यापारमै लागेँ,’ उनी भन्छन्, ’तर मानिसको सेवा गर्ने अवसरमै मलाई रूचि जाग्यो, त्यसैले सरकारी जागिर त्यागेर व्यापारलाई अंगालेँ ।’
त्यो निर्णय आर्थिक हिसाबले सजिलो थिएन। तर उनी भन्छन्, ‘सन्तुष्टि भने पैसाले किन्न नसकिने कुरा हो। कतिपय कुरामा करोडौँ पैसा दिएर पनि नपाउने सन्तुष्ट मिल्छ।’
खासगरी इटहरीमा तीन दशकअघि स्वास्थ्य सेवा आजजस्तो सहज थिएन। विशेषज्ञ चिकित्सकको अभाव थियो। सामान्य ज्वरो आउँदा पनि उपचारका विकल्प सीमित थिए। त्यही समय उनले व्यवसायलाई व्यापारभन्दा सेवा बनाउने प्रयास गरे।
उनी सम्झन्छन्, ‘धेरै बिरामीसँग शुल्क नै लिइएन। पहिले स्वास्थ्य ठीक होस्, त्यसपछि अरू कुरा सोचौँ भन्ने लाग्थ्यो। अहिले तिनै बिरामीहरू हामीकहाँ उपचारका लागि आउँछन्, खुशी लाग्छ। त्यसबेला मैले राम्रै गरेँजस्तो लाग्छ ।’
आज पनि प्रत्येक साता मधुमेह परीक्षण निःशुल्क गर्ने, विपन्न नागरिकलाई औषधिमा सहुलियत दिने र सामाजिक काममा सक्रिय रहने उनको अभ्यास निरन्तर छ।
३२ वर्षदेखि इटहरीमा औषधि व्यवसाय गरिरहेका न्यौपाने अहिले इटहरी मेडिकल सञ्चालनसँगै निःसहाय बालबालिका सेवा आश्रमका वरिष्ठ उपाध्यक्ष, सिनियो–एन नेपाल, कोशी प्रदेश संयोजक, लायन्स क्लब अफ इटहरी एक्टिभका निवर्तमान अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका यशस्कर सदस्यका रूपमा पनि सक्रिय छन्।
‘बिट्रिस लाहुरेको लागि पोखरा पनि पुगेँ। त्यसैबेला सीएमएमा नाम निस्कियो भनेर फर्किएँ। नाम निस्किएपछि पहाडमा नियुक्ति भयो र गइएन, तराईमै भए जागिर खाइन्थ्यो कि भन्ने लाग्छ,’ उनी विगत स्मरण गर्छन्, ‘म त्यतिबेलै सोसियलाइज पनि भइसकेको थिएँ, त्यसकारण पनि सेवा गर्ने इच्छा जाग्यो र यस क्षेत्रमै निरन्तरता दिएँ।’
२०५५ सालतिर इटहरीमा स्वास्थ्य सेवा अभाव हुँदा उनले शुल्कभन्दा सेवालाई प्राथमिकता दिए। ‘पैसा होइन, पहिला बिरामी निको होस्’ भन्ने सोचले उनले स्वास्थ्य सेवा सुरु गरेको उनी स्मरण गर्छन्।
व्यवसायसँगै सामाजिक सेवामा लामो समय बिताएका न्यौपाने अहिले उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा सदस्य पदका उम्मेदवार छन्। उनी भन्छन्, ‘व्यवसायीका समस्या नजिकबाट देखेपछि संस्थागत रूपमा काम गर्न चुनावी मैदानमा आएको हुँ।’
उनको भनाइमा उद्योग वाणिज्य संघले व्यवसायीको सदस्यता नवीकरण गर्ने कार्यालयमा मात्र सीमित हुनु हुँदैन। संकटमा परेका व्यवसायीको साथ दिने संस्थाका रूपमा रूपान्तरण हुनुपर्छ।
‘उद्योगी–व्यवसायीले ‘यो मेरो संस्था हो’ भन्ने अनुभूति गर्नुपर्छ,’ उनी भन्छन्, ‘सदस्यता नवीकरण गर्दा तिरेको शुल्कभन्दा धेरै सुविधा संघले दिन सक्नुपर्छ।’
खासगरी उनी संघलाई दिगो आयस्रोत भएको संस्थाका रूपमा विकास गर्न औद्योगिक मेला, कृषि मेला, पर्यटन महोत्सवजस्ता कार्यक्रम नियमित गर्नुपर्ने योजना सुनाउँछन्। त्यस्ता कार्यक्रमबाट उठ्ने रकम व्यवसायीको संकटकालीन राहत कोषमा प्रयोग गर्न सकिने उनको तर्क छ।
इटहरीका व्यवसायीले अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या पार्किङ, कर नीति र बजार मन्दी भएको उनी बताउँछन्। ‘ग्राहकले गाडी राख्ने ठाउँ नपाउँदा व्यापार नै प्रभावित भइरहेको छ,’ उनी भन्छन्, ‘स्थानीय सरकार, उद्योग वाणिज्य संघ र व्यवसायीबीच समन्वय गरेर व्यावहारिक समाधान खोज्नुपर्छ।’
उनको अर्को प्राथमिकता घरधनी र व्यवसायीबीच बढ्दो विवादलाई संस्थागत रूपमा समाधान गर्नु हो।
घरबहाल सम्झौतामा उद्योग वाणिज्य संघ मध्यस्थकर्ता बन्न सके दुवै पक्षलाई सहज हुने उनको विश्वास छ। उनका अनुसार व्यवसायीलाई मनपरी ढंगले कोठाबाट निकाल्ने समस्या रोक्नुका साथै कर र कानुनी विषयमा पनि सहज समन्वय गर्न आवश्यक रहेको छ।
स्थानीय सरकार, उद्योग वाणिज्य संघ र बैंकबीच प्रभावकारी समन्वय हुन सके व्यवसायीलाई राहत पुग्ने मात्र होइन, राजस्व संकलनसमेत बढ्ने न्यौपानेको विश्वास छ।
बजारमा देखिएको मन्दीबारे उनको विश्लेषण पनि फरक छ। कोभिड, युवाको विदेश पलायन, लगानीमा कमी र नीतिगत अस्थिरताले व्यापार खुम्चिएको उनको बुझाइ छ। समाधानका लागि बैंकको सहुलियतपूर्ण ऋण, कर नीतिमा सुधार र पर्यटन प्रवद्र्धनलाई उनले प्राथमिकतामा राखेका छन्।
बजार मन्दी, महँगो ऋण, विदेश पलायन र नीतिगत अस्थिरताले व्यवसाय संकटमा परेको भन्दै न्यौपानेले स्थानीय सरकार, आन्तरिक राजस्व र उद्योग वाणिज्य संघबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
पर्यटन र होटल व्यवसायलाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख आधारका रूपमा अघि सार्दै उनी भारतीय पर्यटक लक्षित पूर्वाधार, होमस्टे र मनोरञ्जनका संरचना विस्तार गर्नुपर्ने बताउँछन्।
‘अहिले दुई हजार तीन सय सदस्य रहेको उवासंघमा तीन वर्षभित्र २३ हजार व्यवसायीलाई संघमा आबद्ध गराउने लक्ष्यसहित घर–पसलबाटै नवीकरण, डिजिटल सेवा र सदस्यले तिरेको शुल्कभन्दा धेरै सुविधा उपलब्ध गराउन आवश्यक छ,’ उनले भने।
विशेषगरी भारतको बिहारबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सके कोशी प्रदेशको अर्थतन्त्र चलायमान हुने उनको तर्क छ।
‘होटल, पर्यटन र सेवामूलक क्षेत्र अहिलेको अर्थतन्त्र उकास्ने सबैभन्दा छिटो माध्यम हो,’ उनी भन्छन्, ‘भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वाधार र वातावरण बनाउन सकियो भने व्यापार आफैँ चल्छ।’
चुनावपछि प्रतिनिधि व्यवसायीबाट टाढिने आरोपबारे पनि उनी सचेत देखिन्छन्। डिजिटल माध्यमबाट व्यवसायीका गुनासा सुन्ने, आगलागी वा विपद्का बेला तत्काल राहतको व्यवस्था गर्ने र सरकारी निकायसँग समन्वय गरी व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
‘दसौँ वर्षमा हुन नसकेको काम गर्न सकिन्छ भन्ने म आफैँमा आत्मविश्वास छ। जसका लागि फन्ड आवश्यक छ। दिगो आयस्रोतको पाटो प्रशस्त देखेको छु। महोत्सव, मेला, पर्यटनका कार्य र कृषि तथा औद्योगिक मेलाको आयोजना गरी प्रशस्तै फन्डराइज गर्न सकिन्छ। जसले जोखिममा परेको उद्योगी, व्यवसायीको हितमा काम गर्न सकिन्छ,’ उनले थपे।
लोकसेवाको स्थायी जागिर छाड्ने निर्णय त्यसबेला जोखिमपूर्ण थियो। तर, तीन दशकपछि न्यौपाने त्यो निर्णयप्रति सन्तुष्ट देखिन्छन्। उनको यात्राले एउटा सन्देश दिन्छ– ‘कहिलेकाहीँ सुरक्षित जागिरभन्दा समाजसँग जोडिएको सेवा र आफ्नै उद्यमले पनि जीवनलाई अर्थपूर्ण बनाउन सक्छ।’
अहिले त्यही अनुभव र सेवाको यात्रालाई उद्योगी–व्यवसायीको साझा संस्थासम्म विस्तार गर्ने उद्देश्यका साथ उनी उद्योग वाणिज्य संघको निर्वाचनमा नवराज काफ्लेको समूहबाट मैदानमा उभिएका छन्।




















Discussion about this post