इटहरी : कोशी प्रदेशका दुई जिल्लामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद भएका छन्। प्रहरीको नियमित गस्ती तथा स्विप अपरेसनका क्रममा संखुवासभा र पाँचथरबाट बन्दुक फेला परेका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार संखुवासभाको चैनपुर नगरपालिका–४ धुत्रेखोला क्षेत्रमा प्रहरी चौकी सिद्धपोखरीबाट गस्तीमा खटिएको टोलीले ओडारभित्र बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र अर्को एक थान भरुवा बन्दुकको नाल बरामद गरेको छ।
यस्तै, पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङस्थित खोल्सी क्षेत्रमा इलाका प्रहरी कार्यालय रबीबाट स्विप अपरेसनमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा तीन थान भरुवा बन्दुक फेला पारेको जनाएको छ।
बरामद गरिएका भरुवा बन्दुक कसले, कहिले र किन त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले बेवारिसे अवस्थामा फेला परेका हतियार नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।





















Discussion about this post