इटहरी : सुनसरी प्रहरीले सप्तकोशी नदीको बाँध क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
कोशी गाउँपालिका–७ स्थित केराबारी र भाण्टाबारीको बीचमा रहेको सप्तकोशी नदी किनारबाट तीन सय आठ केजी गाँजा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहानको राति करिब १ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोली नियमित गस्तीमा रहेको बेला नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा कालो प्लास्टिकले बेरिएका आठ वटा शंकास्पद पोका फेला पारेको थियो।
प्रहरीले ती पोका खोलेर जाँच गर्दा जम्मा तीन सय आठ केजी गाँजा बरामद भएको जनाएको छ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।





















Discussion about this post