इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
प्रहरी टोली पुगेपछि तस्करीमा संलग्न व्यक्तिहरू तीनवटा मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान करिब ६ः१५ बजेतिर इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी घटनास्थल पुग्दा को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झार्दै गरेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भएका थिए।
प्रहरीले घटनास्थलबाट अन्दाजी ७ लाख ९५ हजार रुपैयाँ बराबरका ५४२ थान कुर्ता–सुरुवाल तथा तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।
बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
साथै, फरार भएका व्यक्तिहरूको खोजी तथा तस्करीमा संलग्न सञ्जालबारे थप अनुसन्धान भइरहेको छ।
















Discussion about this post