विराटनगर : मोरङ प्रहरीले एक टनभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ। रतुवामाई नगरपालिका–१० सोमबारेस्थित उर्लाबारी–आमबारी सडकखण्डमा चेकजाँचका क्रममा मिनी ट्रकबाट १ हजार ३३ किलो ४८४ ग्राम गाँजा फेला परेको हो।
इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकको पछाडिपट्टि राखिएको धानको भुसको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ पोकामा लुकाइराखिएको अवस्थामा १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा फेला परेको हो।
घटनामा मिनी ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ हिले निवासी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ।
बरामद गाँजा, मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post