झापा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी विपन्न महिला इन्द्रमाया खातीका लागि निर्माण गरिएको घर हस्तान्तरण गरेको छ।
जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत पहिलो घर निर्माण गरी हस्तान्तरण गरिएको हो।
आइतबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले खातीलाई घरको चाबी हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले संविधानले आवासलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै विपन्न नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने बताए।
उनले झापामा सुरु गरिएको घर निर्माण अभियानले राज्यलाई नागरिकको आधारभूत आवश्यकता पूरा गर्न थप जिम्मेवार बन्न दबाब दिने विश्वास व्यक्त गरे।
नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले अभियानले समाजवादी अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गरेको बताए। सुरक्षित आवास प्रत्येक नागरिकको अधिकार भएको सन्देश अभियानमार्फत प्रवाह गरिएको उनको भनाइ थियो।
नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण अभियान संयोजक बासु दुलालका अनुसार विभिन्न दाताबाट संकलित तीन लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहित तीन कोठे घर निर्माण गरिएको हो।
उनले झापाका १५ वटै स्थानीय तहमा विपन्न परिवारका लागि घर निर्माण गर्ने अभियान अघि बढाइएको जानकारी दिए। दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको र पार्टी सदस्यहरूबाटै सहयोग संकलन गरेर अभियानलाई निरन्तरता दिइने उनले बताए।
कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरूलाई सम्मान गरिएको थियो।












Discussion about this post