उदयपुर : सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज गराइदिने भन्दै रकम लिएको आरोपमा डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत भुवन पौडेल पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय उदयपुरका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालयबाटै १६ हजार २५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
अख्तियारको टोली विशेष सूचनाका आधारमा कार्यालय पुगेको थियो। निगरानीका क्रममा पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम मिलाइदिने भन्दै रकम लिएको आरोप लागेको छ। त्यसपछि टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको जनाइएको छ।
पौडेलले रकम मागेको भनिएको सामुदायिक वन उपभोक्ता समूहको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले वन अधिकृत पौडेल रकमसहित पक्राउ परेको जानकारी आफूलाई प्राप्त भएको बताए।
‘अख्तियारको टोलीले उहाँलाई नगदसहित पक्राउ गरेको जानकारी आएको छ,’ उनले भने, ‘घटनाबारे थप विवरण अनुसन्धानबाट खुल्छ।’
अख्तियारले घटनासँग सम्बन्धित थप प्रमाण तथा तथ्य संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।












Discussion about this post