इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप परिवर्तन गरिने भएको छ।
विगत तीन संस्करणदेखि नकआउट प्रणालीमा हुँदै आएको प्रतियोगिता चौथो संस्करणदेखि सुपर लिग अवधारणामा सञ्चालन गरिने भएको हो। प्रतियोगिताको नामसमेत परिवर्तन गरी ‘मेयर कप इटहरी सुपर लिग’ राखिएको आयोजकले जनाएको छ।
प्रतियोगितालाई स्थानीय प्रतिभा पहिचान र विकासको माध्यम बनाउने लक्ष्यसहित नयाँ स्वरूपमा लैजान लागिएको आयोजकको भनाइ छ। सुपर लिगमा स्थानीय खेलाडीले उच्चस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने भएकाले उनीहरूको खेलस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ स्वरूपको प्रतियोगितामार्फत इटहरीलाई मात्र नभई समग्र कोशी प्रदेशकै आकर्षक क्रिकेट प्रतियोगिताका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य छ।
यसैक्रममा आयोजकले प्रतियोगिताको नयाँ लोगोसमेत सार्वजनिक गरेको छ। प्रतियोगितामा सहभागी हुने टोली, खेलाडी, पुरस्कार राशि, खेल सञ्चालन हुने स्थान र मितिलगायतका विषयमा भने पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराइने जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको स्वरूप परिवर्तनसँगै स्थानीय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीबाट प्रत्यक्ष रूपमा सिक्ने र आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्।












Discussion about this post