इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख पाँच हजार ५५ रुपैयाँ सहयोग गर्ने भएको छ।
कलेज सञ्चालक समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा योगदान गर्ने निर्णय गरेको हो। कलेजले घोषणा गरेको रकम शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
सञ्चालक समितिका अध्यक्ष केशव खड्काका अनुसार विपद्को समयमा शैक्षिक संस्थाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिन सहयोगको निर्णय गरिएको हो।
‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ खड्काले भने।
उनका अनुसार शिक्षा क्षेत्रको भूमिका कक्षाकोठा र पठनपाठनमा मात्र सीमित हुनुहुँदैन। प्राकृतिक विपत्ति वा संकटका बेला समुदाय र राष्ट्रलाई आवश्यक सहयोग गर्नु पनि शैक्षिक संस्थाको सामाजिक जिम्मेवारी भएको उनले बताए।
कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा सहयोग गर्ने पहलका रूपमा कलेजले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा संघसंस्थाले सहयोग गरिरहेका छन्।












Discussion about this post