इटहरी : सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा बराहक्षेत्र नगरपालिका–१० का विनोद रौनियार, बराहक्षेत्र–५ का आषिश बिष्ट र इटहरी उपमहानगरपालिका–१५ का खुर्सिद मिया रहेका छन् । अदालतले रौनियारलाई एक हजार, विष्टलाई पाँच सय र मियालाई एक हजार पाँच सय रुपियाँ जरिवाना तोकेको थियो ।
त्यस्तै, बिना इजाजत बैंकिङ तथा वित्तीय कारोबार मुद्दामा इटहरी–५ का नरबहादुर विष्टलाई १५ लाख रुपियाँ जरिवाना र ३५२ दिन कैदको फैसला भएको थियो ।
लेनदेन मुद्दामा इनरुवा–८ का खेमबहादुर कार्कीलाई ९० दिन कैदको फैसला भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।












Discussion about this post