विराटनगर । नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक मतभेद र विवाद समाधानका लागि मोरङ कांग्रेसका नेता तथा कार्यकर्ताले दुईवटा महाधिवेशन प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी ‘एकताको महाधिवेशन’ गर्न आह्वान गरेका छन्।
कांग्रेस मोरङका विभिन्न तहका नेता तथा कार्यकर्ताले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संवाद, सहमति र लोकतान्त्रिक विधिबाट पार्टीभित्रको विवाद समाधान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
विवाद समाधान नगरी अलग–अलग रूपमा अघि बढाइएका दुईवटा महाधिवेशन प्रक्रियाले समस्या समाधान गर्नुको सट्टा पार्टीभित्र समानान्तर संगठन, नेतृत्व र वैधानिकताको दाबी सिर्जना गर्ने जोखिम बढाएको उनीहरूको भनाइ छ। महाधिवेशन पार्टी विभाजनको माध्यम नभई कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउने लोकतान्त्रिक अभ्यास बन्नुपर्ने उनीहरूले बताएका छन्।
संयुक्त विज्ञप्तिमार्फत दुवै महाधिवेशनका प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी ‘एकताको महाधिवेशन’ आयोजना गर्न माग गरिएको छ। साथै, आपसी संवाद, सहमति र लोकतान्त्रिक विधिबाट विद्यमान विवाद समाधान गरी सबै पक्षले स्वीकार गर्न सक्ने निष्पक्ष, स्पष्ट र सर्वस्वीकार्य महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न पनि माग गरिएको छ।
उनीहरूले आफूहरूको आह्वान कुनै व्यक्ति वा समूह विशेषको पक्ष–विपक्षमा नभई नेपाली कांग्रेसको पक्षमा रहेको स्पष्ट पारेका छन्। पार्टीको एकता, लोकतान्त्रिक मूल्य, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।
पूर्ण एकता, सबै पक्षको सहमति र सहभागितामा हुने ‘एकताको महाधिवेशन’ले बलियो, सक्षम र सबल कांग्रेस निर्माणमा सहयोग पुग्ने उनीहरूले बताएका छन्। गुट विस्तारभन्दा पार्टी एकता, जित–हारको राजनीतिभन्दा सहमतिको राजनीति र अलग–अलग महाधिवेशनभन्दा साझा ‘एकताको महाधिवेशन’ अहिलेको आवश्यकता भएको उनीहरूको निष्कर्ष छ।
संयुक्त विज्ञप्तिमा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकलाई समेत पार्टीभित्रको विवाद समाधान तथा एकताको महाधिवेशनका लागि केन्द्रित हुन आह्वान गरिएको छ।
विज्ञप्तिमा मोरङ क्षेत्र नम्बर २ का महाधिवेशन÷महासमिति सदस्य गोपालमानसिंह राजभण्डारी, मोरङ क्षेत्र नम्बर ६ का जिल्ला उपसभापति तथा महासमिति सदस्य एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा महासमिति सदस्य केदार कार्की र महासमिति सदस्य निरञ्जन रिजालले हस्ताक्षर गरेका छन्।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि नगेन्द्र जम्मरकट्टेल र रामहरि कोइराला, क्षेत्र नम्बर ५ का महाधिवेशन प्रतिनिधि नईम आलम तथा पार्वती यादव, क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि सुधीरकुमार अर्याल र देवेन्द्र पोखरेल पनि विज्ञप्तिमा सहभागी छन्।
पूर्व महाधिवेशन प्रतिनिधि तथा जिल्ला सल्लाहकार देवी भण्डारी, जिल्ला सदस्य सुशील कोइराला, मुसरफ खान र सुमित्रा कोइराला तथा जिल्ला सदस्य अञ्जना अधिकारीले पनि संयुक्त आह्वानमा समर्थन जनाएका छन्।
यसैगरी मोरङ क्षेत्र नम्बर ६ ‘ख’का सभापति मधुबाबु तिवारी, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, मोरङ क्षेत्र नम्बर ६ का सचिव जितेन्द्र गोल्छा, क्षेत्र नम्बर ६ ‘ख’का सचिव विमल राजभण्डारी, मोरङ क्षेत्र नम्बर ६ का प्रदेश सदस्य विकास पराजुली र हरिश्चन्द सहनी विज्ञप्तिमा सहभागी छन्।
पूर्वसांसद तथा नेपाल महिला संघ मोरङकी सभापति शान्ता पौडेल, विराटनगर–७ का वडा सभापति अशोक विष्ट, विराटनगर–१ का पूर्ववडा सभापति केशव बस्नेत र विराटनगर–११ का क्षेत्रीय प्रतिनिधि सञ्जय नेपालले पनि संयुक्त रूपमा ‘एकताको महाधिवेशन’को पक्षमा आवाज उठाएका छन्।
कांग्रेसभित्रको आन्तरिक विवादका कारण पार्टी संगठन र नेतृत्वसम्बन्धी समानान्तर दाबी उत्पन्न हुने अवस्था बनेको भन्दै उनीहरूले समयमै संवाद र सहमतिबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन्।
















Discussion about this post