मञ्चको छेउमा मधुरो बाँसुरीको धुन बजाइरहेका थिए पूर्ण सुनुवार । यता मञ्चको बीचमा भने कविता वाचन गरिरहेका थिए आठजना कविहरू । यो सांगीतिक एवं काव्यिक माहोलको अनुपम दृश्य युकेको एल्डरसटमा शनिबार भएको काव्य–सन्ध्या कार्यक्रमको हो ।
शशी थापा सुब्बाको कविता वाचन सँगै सुरु भएको रचना वाचनमा राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई तथा मुकुल दाहालले तीन तीनवटा कविता वाचन गरे ।
अधिकांश कवितामा डायस्पोरिक जीवनको पीडा तथा प्रकृतिमा भइरहेका दोहनको विषय समावेश थियो । राज श्रेष्ठ, आरएल श्रमजीवी र विजय हितानले रसुवाको महाबाढीमाथि लेखिएका आफ्ना ताजा कविता सुनाउँदा माहोल भावुक बन्न पुगेको थियो ।
यता कवि नरेश काङमाङ राईले बीच, बीचमा चर्चित नेपाली कविताका हरफहरू वाचन गर्दै कार्यक्रमलाई सहजीकरण गरे ।
काव्य सन्ध्या सन् २०२४ देखि प्रत्येक वर्ष आयोजना गरिने कविता वाचन कार्यक्रम हो । जहाँ कुनै औपचारिक समारोह नगरी मात्र कविता वाचन मात्र गर्ने चलन रहँदै आएको छ ।
साहित्य सङ्गालो बेलायत आयोजक रहेको काव्य–सन्ध्याको संयोजक साहित्यकार केदार सङ्केत रहेका छन् । खुपेन सुनुवार, निर्भीकजंग रायमाझी, नरेश काङमाङ राई, प्रयास दुमी राई, जीवन तिवारीलगायत युवा लेखकहरू यसको समूह सदस्य रहेका छन् ।
काव्य–सन्ध्याकै अवसरमा नेपाल क्राफ्ट एन्ड बुक डटकमले नेपाली साहित्य र संस्कृतिका पुस्तकहरू बिक्रीका लागि प्रदर्शनीमा राखेको थियो ।















Discussion about this post