इटहरी : सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गरेको छ ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई व्यवहारमा उतार्न यो मेला सञ्चालनमा ल्याइएको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त मेला आगामी असोज २० गतेसम्म चल्नेछ । मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष रूपमा जोड्नु रहेको छ ।
मेलाका क्रममा युवालाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमीः सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत सञ्चालन गरिनेछ ।
यसैगरी, मेला अवधिभर तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परीक्षण तथा अभिलेखीकरण (सीप प्रोफाइलिङ), रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रमका साथै एकीकृत सूचना तथा परामर्श सेवाहरू प्रवाह गरिनेछ ।
चालू आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट प्रारम्भ गरिएको यो मेलालाई सरकारले क्रमशः अन्य सबै प्रदेशहरूमा विस्तार गर्दै लैजाने तयारी छ । बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी)ले मेलाको उद्घाटन गरेका थिए ।


















Discussion about this post