असोज : उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पस गाईघाटले प्राविधिक विषयसहित नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ।
क्याम्पसको क्याम्पस सभा तथा १७औँ वार्षिक साधारणसभा सोमबार क्याम्पस परिसरमा सम्पन्न भएको हो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका पूर्वनगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ।
साधारणसभाको उद्घाटन कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गरेकी थिइन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले स्नातक तहको शिक्षाको गन्तव्यका रूपमा विकास हुँदै गएको बरुवा क्याम्पसलाई कोशी प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफू सक्रिय रहने बताइन्। सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले बताइन्।
साधारणसभामा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलदेव चौधरी, क्याम्पस सभा सदस्य, शिक्षाप्रेमी, पत्रकार, प्राध्यापक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।
क्याम्पस प्रमुख भीमबहादुर खड्काका अनुसार सभाले आगामी आर्थिक वर्षका लागि क्याम्पसको बजेट तथा विभिन्न शैक्षिक कार्यक्रमसमेत स्वीकृत गरेको छ। शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा विद्यार्थीलाई थप अवसर उपलब्ध गराउने विषयलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखिएको उनले बताए।
हाल व्यवस्थापन तथा शिक्षा शास्त्रका कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसले आगामी दिनमा बीआईटी, बीबीए, सिभिल इन्जिनियरिङ तथा बीएडमा सामाजिक विषय थप गर्ने योजना अघि सारेको छ। नयाँ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय तथा आसपासका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका थप अवसर उपलब्ध हुने क्याम्पसको अपेक्षा छ।
क्याम्पस सञ्चालन तथा शैक्षिक गतिविधि विस्तारमा विश्वविद्यालय अनुदान आयोग, कोशी प्रदेश सरकार र त्रियुगा नगरपालिकाबाट प्राप्त हुँदै आएको अनुदान तथा सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको क्याम्पसले जनाएको छ। ती निकायबाट प्राप्त सहयोगले शैक्षिक कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार व्यवस्थापन तथा प्रशासनिक कार्यमा सहजता पुगेको क्याम्पसको भनाइ छ।
स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा अभिभावकको सामूहिक प्रयासमा वि.सं. २०६६ मा स्थापना भएको बरुवा क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ।
स्थापनाका बेला व्यवस्थापन संकायमा सीमित विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल शिक्षा शास्त्र र व्यवस्थापन संकायअन्तर्गत करिब ३५० विद्यार्थी अध्ययनरत छन्। क्याम्पसका अनुसार शिक्षा शास्त्रतर्फ करिब १८० र बीबीएसतर्फ करिब १७३ विद्यार्थी अध्ययनरत छन्।
क्याम्पसले दक्ष, योग्य तथा अनुभवी प्राध्यापकमार्फत नियमित पठनपाठन सञ्चालन गर्दै आएको जनाएको छ। सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक तथा व्यावहारिक सिकाइमा समेत जोड दिइएको क्याम्पसले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, अन्तरक्रिया, छलफल तथा शैक्षिक भ्रमण सञ्चालन गर्दै आएको छ।
वार्षिक परीक्षाअघि एकाइ तथा चौमासिक परीक्षा सञ्चालन गरी विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्ने अभ्याससमेत क्याम्पसले गर्दै आएको जनाएको छ।
देशको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, विद्यार्थीको ज्ञान, सीप, कला, साहित्य, भाषा तथा व्यावसायिक क्षमताको विकास गर्ने र सक्षम नागरिक निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित क्याम्पसले शैक्षिक गतिविधि विस्तार गर्दै आएको छ। आगामी दिनमा नयाँ शैक्षिक कार्यक्रम थप गर्दै गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य क्याम्पसले लिएको छ।
















Discussion about this post