इटहरी : इटहरी निवासी नियात्राकार तथा कवि गणेश खड्काको ‘नक्सामा नभएको देश’ नियात्राको गृहनगरमा परिचर्चा विशेष कार्यक्रम सम्पन्न भएको छ।
इटहरीस्थित विश्व आदर्श कलजेको सभाहलमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष मिश्रा गुरुङको अध्यक्षता थियो। इटहरीका शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्य थियो भने साहित्यकार विशिष्ट अतिथिका रूपमा युवराज नयाँघरे उपस्थित थिए।
कार्यक्रममा परिचर्चाकारका रूपमा जैविक दर्शनका प्रणेता मोहन तिम्सिना, प्राध्यापक इन्दिरा मिश्र तथा कवि मनु मञ्जिलले पुस्तकमाथि चर्चा गरेका थिए। त्यस्तै कवि राज आशातीतले पाठकीय प्रतिक्रिया व्यक्त गरेका थिए।
प्यानल डिस्कसनका रूपमा इटहरीका वरिष्ठ सम्पादक दिनेश पौडेल तथा कवि रामप्रसाद खरेलले लेखक खड्कासित प्रश्नोत्तरी गरेका थिए।
कार्यक्रममा कवि टीका आत्रेय, कवि धनकुटे कान्छालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै युवराज नयाँघरेले नयाँ पुस्ताका लेखकहरूमध्ये खड्काको लेखनी पढ्न डर लाग्ने बताए। ‘आज नेपालमा बसेर लेखिरहेको एउटा ठिटो केही दिनमा अरबमा पुगेर पसिना बगाइरहेको हुन्छ। हामी लेखेर बाँचिरहन गाह्रो बन्दै गइरहेको छ।’ उनले भने।
कार्यक्रममा परिचर्चाकार मनु मञ्जिलले ‘नक्शामा नभएको देश’ अफ्रिका नपुगेका पाठकहरूका लागि यात्रा-गाइड जस्तो भएको बताएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखनाथ घिमिरेले खड्काले परदेशमा रहेर पनि आफ्नो देशको भाषा र साहित्यको विकासमा योगदान पुर्याएको बताए। आफ्ना काममा खटिरहेर पनि फुर्सतमा यति सुन्दर कृति लेखन गर्नु आफैँमा प्रेरणा रहेको उनको भनाइ थियो।

पूर्वका करीब १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम सङ्गीत साधना प्रतिष्ठान नेपाल इटहरी र विश्व आदर्श कलेजको सहकार्य र सगरमाथा साहित्य प्रतिष्ठान कोशीको आयोजनामा भएको थियो।
लेखक गणेश खड्का इटहरीका लोकप्रिय लेखक तथा कवि हुन्। सन् २००८ देखि पूर्वी अफ्रिकी देश सेसेल्समा रोजगारीका सिलसिलामा छन्। उनका यसअघि ‘थिएटर र आँखाहरू’, ‘हिउँले आँगो पगालेर’ कृति प्रकाशित छन्। ‘नक्शामा नभएको देश’ कृति खड्काको तेस्रो कृति हो।
त्यस्तै खड्का अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरले प्रकाशन गर्ने ‘किलिमन्जारो’ वार्षिक पत्रिकाको सम्पादकसमेत हुन्। २०३३ साल माघमा भोजपुरको तिवारी भन्ज्याङमा जन्मिएका लेखक खड्का गीतकार, नियात्राकार, नाट्यकर्मी तथा नाटककार र गजलकारसमेत हुन्।
















Discussion about this post