जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–७ तिलतलेमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको ८५ बोरा गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कात्तिक १९ गते राति करिब १० बजे उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार बरामद गाँजाको तौल २ हजार ८२० किलो ५०० ग्राम रहेको छ। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याएर राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि कात्तिक १५ गते पनि बेलका नगरपालिका–९ बाट सशस्त्र प्रहरीको टोलीले ट्रकसहित ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरेको थियो। पछिल्ला घटनाले उदयपुरको बेलका क्षेत्र गाँजाको अवैध ओसारपसार तथा भण्डारणको जोखिममा रहेको देखाएको छ।














Discussion about this post