मोरङ : जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला निकै व्यस्त छ ।
राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्छिन् । बाइस वर्षअघि प्रतिगोटा एक रुपैयाँमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर दश रुपैयाँ पुगेको उनले बताइन् । चामल, दाउरा तथा अन्य आवश्यक सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उनको भनाइ छ ।
उनका अनुसार दैनिक करिब पाँच केजी चामलबाट तयार गरिएको भक्का बिक्री हुने गरेको छ । एक केजी चामलको पिठोबाट करिब २० वटा भक्का तयार हुन्छन् । जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का रुचाउने ग्राहक धेरै हुने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने उनले जानकारी दिइन् ।
नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको साझा तथा लोकप्रिय खाजा बनेको छ ।
चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय बासिन्दा तथा यात्रुको प्रमुख रोजाइमा पर्ने गरेको छ । पहिले घरमा मात्र बनाइने भक्का पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ ।
विशेषगरी झापा, मोरङ र सुनसरीका चोक तथा बजारमा जाडोयाम लक्षित भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढेको छ ।
चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर तयार पारिएको मोटो पिठोलाई माटोको सानो हाँडीमा राखी बाफमा पकाएर भक्का बनाइन्छ । कपडाले छोपेर केही मिनेट बाफमा पकाएपछि तयार हुने भक्का नरम र सेतो हुन्छ ।
लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा निकै स्वादिलो हुन्छ ।
बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहेका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यस व्यवसायले न्यून आय भएका परिवारलाई हिउँदमा राम्रो आर्थिक सहारा दिएको छ ।
विशेषगरी घरायसी कामसँगै केही घण्टा भक्का बनाएर बिक्री गर्दा आम्दानी हुन थालेपछि स्थानीय गृहिणीहरूको यस पेसाप्रति आकर्षण बढेको उनले बताए ।
















Discussion about this post