विराटनगर : विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीले अब जिल्ला प्रशासन कार्यालयबाट छुट्टै अनुमति लिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले नयाँ मापदण्ड लागू गर्दै राति १० बजेपछि पनि व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीबाट अनुमति प्रक्रियाका लागि निवेदन लिन थालेको छ ।
नयाँ व्यवस्थाअनुसार व्यवसायको प्रकृतिका आधारमा राति १२ देखि २ बजेसम्म सञ्चालन गर्न पाइनेछ । पान पसल, चिया, मिठाई, रेस्टुरेन्ट, दोहोरी तथा गजललगायत व्यवसायलाई राति १२ बजेसम्म र लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को तथा लाउन्ज बारलाई राति २ बजेसम्म सञ्चालन गर्न अनुमति दिन सकिनेछ ।
तर, समय थपिए पनि व्यवसाय सञ्चालन स्वतः खुला हुने छैन । सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदन दिएपछि अनुगमन समितिले व्यवसायस्थलको निरीक्षण गर्नेछ । तोकिएका सुरक्षा, पूर्वाधार र व्यवस्थापकीय सर्त पूरा भएको पाइएपछि मात्रै प्रशासनले अनुमति दिनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ जारी गरिएको हो । राति १० बजेसम्म सञ्चालन हुने व्यवसायका लागि भने अतिरिक्त अनुमति आवश्यक पर्ने छैन ।
प्रशासनले व्यवसाय सञ्चालनको समय बढाएसँगै सुरक्षा र जवाफदेहिताका सर्तसमेत कडा बनाएको छ । व्यवसाय परिसरदेखि कम्तीमा १०० मिटरसम्म सडक तथा आसपासमा पर्याप्त प्रकाश, प्रवेशद्वार र सडक देखिने गरी सीसीटीभी तथा त्यसको ३० दिनसम्मको अभिलेख राख्नुपर्नेछ ।
साउन्डप्रुफ संरचना, अग्नि नियन्त्रण उपकरण, आपतकालीन निकास र डिजिटल डिस्प्ले बोर्डसमेत अनिवार्य गरिएको छ ।
मदिरा बिक्री तथा सेवनमा भने व्यवसाय सञ्चालनको समयअनुसार पूर्ण छुट दिइएको छैन । अनुमति प्राप्त व्यवसायले दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन पाउने छैनन् ।
शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ । मदिरा बिक्री गर्ने पसलका लागि बिहान १० देखि राति १० बजेसम्मको समय निर्धारण गरिएको छ ।
रात्रिकालीन व्यवसायमा बालबालिकाको प्रवेशसमेत निषेध गरिएको छ । डान्सबार, दोहोरी, लाइभ ब्याण्ड, पब, क्लब तथा डिस्कोमा १८ वर्षमुनिका व्यक्तिलाई प्रवेश दिन पाइने छैन । ग्राहकको सुरक्षा सुनिश्चित गर्न मदिरा सेवन गरेका व्यक्तिलाई गन्तव्यसम्म पुर्याउने सवारी व्यवस्था व्यवसायीले मिलाउनुपर्नेछ ।
त्यस्तै, कार्यस्थलमा यौनजन्य दुर्व्यवहार तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न मसाज पार्लर, स्पा र क्याबिनका ढोकामा भित्रबाट लक लगाउन नपाइने व्यवस्था गरिएको छ । स्पामा तालिम तथा प्रमाणपत्र प्राप्त व्यक्तिले मात्रै काम गर्न पाउनेछन् ।
मापदण्ड कार्यान्वयनको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विराटनगर महानगरपालिका र व्यवसायीका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको छ । समितिले नियमित तथा आकस्मिक अनुगमन गर्नेछ ।
















Discussion about this post