इटहरी : संसार नै सकिन लागेको अन्तिम दिन मानिसले कसरी बिताउला ? मृत्युको डरले रुन्छ वा बाँकी रहेको समयलाई जीवनकै सबैभन्दा खुसीको क्षण बनाउने प्रयास गर्छ ?
यस्तै काल्पनिक परिस्थितिमा आधारित नाटक ‘४ ला ४’ काठमाडौँमा मञ्चन हुने भएको छ ।
भिडा इभेन्ट्सले सानेपास्थित इडेनमा बिहीबारदेखि आइतबारसम्म चार दिन नाटक प्रदर्शन गर्न लागेको हो । इटहरी निवासी युवा नाटककार सुगम दुलालको लेखन तथा निर्देशनमा तयार भएको नाटकले जीवन, मृत्यु र मानिसको सोचाइलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्नेछ ।
नाटकमा लुमन्ती महर्जन, अबिन ठटाल, विकास श्रेष्ठ र सुगम दुलालको अभिनय रहनेछ । यसको कोरियोग्राफी विकास श्रेष्ठ र सिर्जनात्मक निर्देशन कर्भिका पोखरेलले गरेकी छन् ।
एउटा अस्पतालमा भेटिएका चार अपरिचित मानिस र संसारको अन्तिम दिनको परिस्थितिलाई कथाको आधार बनाइएको छ । हाँसो, व्यङ्ग्य र अप्रत्याशित घटनामार्फत नाटकले मानिसको जीवनप्रतिको दृष्टिकोणलाई केलाउने प्रयास गरेको छ ।
बिहीबार र शुक्रबार साँझ साढे ५ बजे एक–एक शो हुनेछ । शनिबार दुई र आइतबार एक शो प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
लेखक तथा निर्देशक दुलालले नाटकको कथा र पात्रहरूको प्रस्तुतिलाई लिएर आफू उत्साहित रहेको बताएका छन् । दर्शकले फरक स्वादको नाट्य अनुभव गर्ने उनको विश्वास छ ।















Discussion about this post