झापा : सीमावर्ती क्षेत्रमा वन्यजन्तुको आवागमन हुने मार्गमा रहेका असुरक्षित विद्युत् संरचना जंगली जनावरका लागि घातक बन्न थालेका छन् ।
झापासँग सिमाना जोडिएको भारतको पश्चिम बंगालस्थित खोरीबारीको चन्नाजोत क्षेत्रमा बुधबार बिहान करेन्ट लागेर एउटा पोथी हात्तीको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा विद्युत् पूर्वाधारको सुरक्षामाथि प्रश्न उठेको छ ।
स्थानीयका अनुसार विद्युत् पोल ढलेको स्थानमा हात्ती मृत भेटिएको थियो । भुइँमा खसेको विद्युत् तारमा प्रवाह भइरहेको करेन्ट लागेर हात्तीको मृत्यु भएको प्रारम्भिक अनुमान छ । घटनास्थलमा ढलेको पोलसमेत देखिएकाले विद्युत् संरचनाकै कारण दुर्घटना भएको आशंका गरिएको हो ।
बिहान हात्ती मृत भेटिएपछि स्थानीयले सम्बन्धित निकायलाई खबर गरेका थिए । त्यसपछि सरोकारवाला निकायका प्रतिनिधि घटनास्थल पुगेका थिए । यद्यपि, हात्तीको मृत्युको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
केही दिनयता नेपाल–भारत सीमावर्ती क्षेत्रमा जंगली हात्तीको झुन्ड देखिँदै आएको छ । झापाको बाहुनडाँगी, मेचीनगर र आसपासका क्षेत्रमा भारतबाट हात्ती आउने क्रम नियमितजस्तै छ ।
आहारको खोजी, बासस्थानमा आएको संकुचन र परम्परागत आवागमन मार्गमा अवरोध हुँदा हात्तीहरू बस्ती तथा खेतीयोग्य जमिन आसपास पुग्ने गरेका छन् ।
हात्तीको आवागमन हुने यस्ता क्षेत्रमा विद्युत् पोल र तारको उचित व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ । विशेषगरी ढलेका पोल, भुइँमा लत्रिएका तार र समयमै मर्मत नगरिएका विद्युत् संरचनाले वन्यजन्तुको ज्यान लिन सक्ने यो घटनाले देखाएको छ ।
सीमावर्ती क्षेत्रमा हात्तीको आवागमनलाई ध्यानमा राखेर विद्युत् संरचनाको नियमित अनुगमन, जोखिमयुक्त पोलको मर्मत र भुइँमा लत्रिएका तार व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ ।















Discussion about this post