इटहरी : गुरुङ समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणका लागि देशभरका प्रतिनिधि इटहरीमा भेला हुने भएका छन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा आगामी शनिबार इटहरीमा आयोजना हुन लागेको हो ।
समुदायको परम्परागत ज्ञान, संस्कार र लोपोन्मुख सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउने विषयलाई सभाले प्राथमिकतामा राख्नेछ ।
‘थातथलो हाम्रो गौरव, अमूर्त सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने सन्देशसहित आयोजना हुने सभामा संगठनको भावी दिशा र सांस्कृतिक सम्पदा संरक्षणका योजनामाथि छलफल हुनेछ ।
परिषद्का महासचिव अधिवक्ता राजु गुरुङका अनुसार सभामा विधान संशोधन, आगामी नीति तथा कार्यक्रम र गुरुङ समुदायको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी विषयले प्राथमिकता पाउनेछन् ।
समुदायको संस्कृति संरक्षणलाई संस्थागत स्वरूप दिन विभिन्न प्रदेशमा सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ । रुपन्देहीमा प्येता ल्हुता अध्ययन स्रोत केन्द्र तथा संग्रहालय, कोशीमा रोधी स्रोत केन्द्र तथा संग्रहालय, चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकीमा तमू अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने प्रस्तावमाथि छलफल हुने परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष धनमान गुरुङले संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै विभिन्न जातीय, पेसागत तथा अन्तर्राष्ट्रिय संस्थालाई एउटै छातामुनि समेट्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको बताए ।
सभामा ६ प्रदेश र ३४ जिल्लाका कार्यसमिति, भातृसंस्था तथा पेसागत र विशेष संस्थाका प्रतिनिधिसहित करिब ३५० जनाको सहभागिता रहनेछ । उद्घाटन गृहमन्त्री सुदन गुरुङले गर्नेछन् भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा उद्घाटन र सत्संग पार्टी प्यालेसमा बन्द सत्र सञ्चालन हुनेछ । यसै अवसरमा भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि संकलित राहत रकम गृहमन्त्री गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङले जानकारी दिए ।















Discussion about this post