उदयपुर : उदयपुरको बेलका नगरपालिका–६ स्थित सुकुम्बा गाउँमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार दिउँसो करिब ३ बजे बजारबाट सामान किनेर घर फर्कने क्रममा ८७ वर्षीय रन्ध्वज राईलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।
जंगलबाट अचानक निस्किएको हात्तीको आक्रमणमा परी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोली र सवडिभिजन वन कार्यालय लालबजारका वन कर्मचारी घटनास्थल पुगेका थिए ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी राईको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पछिल्लो समय उदयपुरको बेलका र चौदण्डीगढी नगरपालिकाका विभिन्न वडामा कोशीटप्पु क्षेत्र तथा भारततर्फबाट आउने जङ्गली हात्तीको आतंक बढ्दै गएको छ ।
हात्तीले घरपालुवा जनावरमाथि आक्रमण गर्ने, घर, गोठ तथा टहरामा क्षति पुर्याउने, खेतबारीका बाली नष्ट गर्ने, अन्नपात र भाँडाकुँडा छरपस्ट पार्ने तथा मानिसमाथि समेत आक्रमण गर्ने गरेका छन् । हात्तीको बढ्दो गतिविधिका कारण बेलका र चौदण्डीगढीका विभिन्न क्षेत्रका स्थानीय त्रसित बन्दै आएका छन् ।
















Discussion about this post