उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियास्थित विष्णुजङ्गमा आगलागीबाट घर तथा धनमाल गुमाएका पीडित परिवारलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।
नगरप्रमुख कालुमान लामाले बुधबार घटनास्थलमै पुगेर आगलागी पीडित प्रेम राईको परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गरे । नगरप्रमुख लामासहित नगर प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रकाश राउत र नगरपालिकाका कर्मचारी हिरा सापकोटाले पीडित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।
पीडित परिवारलाई डसना, सिरक र झुल दुई–दुई थान, चामल एक बोरा, दाल, नुन, तेल, थाल र गिलास चार–चार थान तथा डेक्ची, कराई र त्रिपाल एक–एक थान प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख लामाले तत्कालको आवश्यकता सम्बोधन गर्न आपत्कालीन राहत उपलब्ध गराइएको बताउँदै प्रचलित नियम तथा कार्यविधिअनुसार थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गत मंसिर ८ गते दिउँसो करिब २:३० बजे प्रेम राईको टिन र काठले बनेको एकतले घरमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । आगलागीमा घरभित्र रहेका नगद, सुनचाँदी, खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडासमेत जलेर नष्ट भएका थिए ।
आगलागीबाट राईको घरसँगै नजिकै रहेका दुईवटा गोठसमेत जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागीबाट राईको घर तथा धनमाल र छिमेकी कुमार सिंह राईको गोठसमेत गरी प्रारम्भिक अनुमानमा करिब ७ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरी चौकी हडियाबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र चौदण्डीगढी नगरपालिकाको दमकलको सहयोगमा आगलागी करिब पौने ४ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
















Discussion about this post