इटहरी : विद्यालय तहका विद्यार्थीलाई प्रविधिका प्रयोगकर्ता मात्र नभई दैनिक जीवनका समस्या पहिचान गरी डिजिटल समाधान विकास गर्न सक्षम बनाउने उद्देश्यले इटहरीमा दुईदिने एसओएस ह्याकाथन २०२६ सुरु भएको छ ।
एसओएस हर्मन माइनर माध्यमिक विद्यालय, इटहरी–१६ को आयोजनामा सुरु भएको प्रतियोगितामा मोरङ र सुनसरीका एक दर्जनभन्दा बढी विद्यालयका कक्षा ९ देखि १२ सम्मका करिब ८० विद्यार्थी सहभागी छन् ।
तीनदेखि चार जनाको समूह बनाएर करिब २० टोलीले विभिन्न समस्याको डिजिटल समाधान खोज्दै नमुना परियोजना विकास गरिरहेका छन् ।
सूचना तथा सञ्चार प्रविधिमा आधारित नमुना परियोजना विकास प्रतियोगिताका रूपमा आयोजित कार्यक्रमले विद्यार्थीको प्राविधिक ज्ञानलाई व्यावहारिक सीप र सिर्जनशीलतासँग जोड्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको उद्घाटन मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको मनमोहन मेमोरियल पोलिटेक्निक कलेज, मोरङका प्राचार्य सुदीप अधिकारीले गरे ।
विद्यालय व्यवस्थापन उपसमिति अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक डीसी चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शशीकुमार उपाध्याय तथा सहप्रधानाध्यापक प्रकाश तिम्सिना, एसओएस बालग्रामका उपनिर्देशक निराजन तिम्सिनालगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले विद्यार्थीको सिर्जनात्मकता र प्राविधिक सीप विकासका लागि ह्याकाथन उपयोगी हुने बताए । विद्यालयका प्रधानाध्यापक विद्यार्थीलाई परम्परागत सोचभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने नवीन परियोजना विकास गर्न प्रेरित गरे ।
त्यस्तै, अध्यक्ष चौधरीले कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सामूहिक सहभागिता आवश्यक रहेको उल्लेख गरे । प्रतियोगितामा सूचना प्रविधि क्षेत्रका मेन्टर जीवन निरौला र निरज अधिकारीले सहभागी समूहलाई परियोजनाको अवधारणा विकास, प्राविधिक परिष्करण तथा नमुना निर्माणमा सहजीकरण गरिरहेका छन् ।
विद्यार्थीले प्रविधिलाई मनोरञ्जन र सूचना प्राप्तिमा मात्र सीमित नराखी समाजका वास्तविक समस्या समाधान गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
विद्यार्थीले विविध एप्लिकेसन, सप्टवेयरलगायतका क्षेत्रमा काम गरी परियोजना बनाउने छन् । प्रतियोगितात्मक रुपमा सञ्चालन भएको उक्त कार्यक्रम इटहरीमै विद्यालयस्तरमा पहिलोपटक सञ्चालन भएको दाबी गरिएको छ ।
एउटा समूहले बनाएको प्रोग्राममा अर्को समूहले ह्याक गर्नेदेखि चुनौती सिर्जना गर्नेसम्मका प्रतियोगिता सञ्चालनले विद्यार्थीमा साइबर सुरक्षा र चुनौतीबारे प्रयोगात्मक सिप हासिल हुने आयोजकले जनाएको छ ।
मंसिर ११ गते शुक्रबारबाट सुरु भएको प्रतियोगिता सहभागी समूहले विकास गरेका नमुना परियोजनाको प्रस्तुति तथा मूल्याङ्कनपछि सम्पन्न हुनेछ । विजेता समूहले नगद ३० हजार पुरस्कार राशि प्राप्त गर्नेछन् ।
कक्षा ९–१२ कम्प्युुटर इन्जिनियरिङ प्राविधिक धार पठनपाठन गर्दै आएको एसओएस हर्मन गुण्स्तरीय शिक्षाका लागि इटहरीमा सबैको रोजाइमा पर्दै आएको छ । वर्षेनि विविध रचनात्मक कार्यक्रम गर्ने विद्यालयले यसपालि प्रविधिमैत्री शिक्षण सिकाइका लागि ह्याकाथन प्रतियोगिता सञ्चालन गरेको हो ।
















Discussion about this post