त्रियुगा नगरपालिका–१२ स्थित विद्यालयले विद्यार्थीको पाककला, व्यावसायिक ज्ञान तथा सांस्कृतिक पहिचान अभिवृद्धि गर्ने उद्देश्यले फुड फेस्टिबल आयोजना गरेको हो ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थी सहभागी महोत्सवमा विभिन्न समुदायका २० भन्दा बढी परिकार प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो । विद्यार्थीले समूहगत रूपमा सातवटा स्टल सञ्चालन गरी भक्का, मःमः, माछा रोस्टलगायत नेवारी, थारू तथा अन्य समुदायका मौलिक परिकार तयार गरेर बिक्री गरेका थिए ।
महोत्सवमार्फत विद्यार्थीले परिकार बनाउने मात्र नभई समूहमा काम गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने, ग्राहकसँग व्यवहार गर्ने, सामग्री व्यवस्थापन, मूल्य निर्धारण र बिक्रीसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए । कार्यक्रमबाट करिब एक हजार पाँच सय रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ ।
विद्यालयको बाल क्लबका अध्यक्ष विपुल सापकोटाले महोत्सवले विद्यार्थीलाई पाककला र व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुगेको बताए । किताबी ज्ञानसँगै व्यावहारिक सिकाइले आत्मविश्वास, सिर्जनशीलता र उद्यमशील सोच विकास गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।
कक्षा शिक्षकहरूको संयोजनमा आयोजित महोत्सवका संयोजक शिक्षक आयुस बस्नेतले विद्यार्थीको सक्रिय सहभागिता, मेहनत र सहकार्यले कार्यक्रम सफल भएको बताए । पढाइसँगै जीवनोपयोगी सीप सिकाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम सापकोटाले उदयपुरमा विद्यालयस्तरमा सम्भवतः पहिलोपटक खाद्य महोत्सव आयोजना गरिएको दाबी गरे । उनले यस्ता सिर्जनात्मक तथा व्यावहारिक सिकाइका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन, सांस्कृतिक पहिचानको संरक्षण, सहकार्य र उद्यमशीलता विकासका लागि अतिरिक्त क्रियाकलापलाई शिक्षण सिकाइसँग जोड्दै आएको जनाएको छ ।
















Discussion about this post