जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदो चाड लक्षित जारी सुरक्षा योजनामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक मापदण्ड लागू हुने जनाइएको छ ।
प्रशासनका अनुसार विगतका वर्षमा मठ मन्दिरमा हँदै आएको पूजाआजा यस पटक भने निषेध गरिएको छ ।
दशैंमा शक्ति पिठहरुमा हुने भीडलाई नियन्त्रण गर्नका लागि सर्वसाधारणको प्रवेश निषेध गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
मठ मन्दिरहरुमा एकजना पुजारी मात्रले पूजा गर्न पाउने छन् । मन्दिर, मस्जिद तथा गुम्बाहरुमा नित्य पूजाआजा एकजना मात्रले गर्ने बाहेक सर्वसाधारणका लागि पुजा, पार्थना, नमाज र ध्यान गर्न निषेध गर्ने गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।
पोखरेलका अनुसार दशैं तिहार र छठ पर्वमा मठ मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा त्यसले कोरोनाको जोखिम बढाउने भएकाले सावधानीकालागि उक्त व्यवस्था लागु गर्ने निर्णय गरिएको हो ।
सुनसरी प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कौं । हिड्नै पर्ने भए अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरौं ।’
त्यस्तै, बजार पसल भने साँझको ८ बजेपछि खोल्न नपाइने प्रशासनले जनाएको छ । तोकिएको समयमा खुलेका बजार पसलले स्वास्थ्य मापदण्डको पालना गरेको हुनु पर्ने बताइएको छ । नियम उल्लंघन गरे कानुन बमोजिम कार्वाही गरिने प्रशासन द्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सबै स्थानीय तहलाई पूर्ववत निर्णय अनुरुप संचालनमा ल्याइएको आइसोलेसन संचालन कोषको खातामा तीन दिन भित्र रकम जम्मा गर्न समेत भनेको छ । प्रशासनले उक्त निर्णयहरु असोज २५ गतेबाट लागु हुने जनाएको छ ।













Discussion about this post