इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध कांग्रेस आक्रमक बनेको छ ।
सोमबार नेपाली कांग्रेस क्षेत्र नं. २ ले इटहरीमा आयोजना गरेको विरोधसभामा अधिकांश नेताहरुले सरकारलाई चेतावनी दिएका थिए ।
सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहेका सीताराम मेहताले अहिले देश संकटमा परेको बताउँदै भने, ‘२००७ सालदेखि कांग्रेसले सडक संघर्ष गर्दै आएको छ, देश संकटमा पर्दा जहिल्यै पनि कांग्रेसले नेतृत्व गरेको छ ।’
नेकपाले घरायसी झगडा मिलाउन नसकेर संविधानको बलात्कार गरेको उनले आरोप लगाए । ‘आफ्नो घरायसी झगडा मिलाउन नसकेर मुलुकका प्रधानमन्त्रीले संविधानको बलात्कार गरेका छन्,’ उनले भने ।
कार्यक्रममा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले केपी ओली नेतृत्व सरकारको तानाशाह, निरंकुश विरुद्ध कांग्रेस सडकमा उत्रिन बाध्य भएको बताए ।
‘कांग्रेसकै नेतृत्वमा देशमा ठूला परिवर्तन भएको छ,’ उनले भने, ‘सरकारले चालेको अलोकतान्त्रिक र असंवैधानिक विरुद्ध कांग्रेस सडकमा आएको हो ।’ उनले वर्तमान सरकारको कारण देश रोइरहेको तर्क गरे ।
‘देश रुनु भनेको आमा रुनु सरह हो,’ उनले भने, ‘आमा रुदाँ त्यतिकै बस्न सकिन्न, त्यसकारण पनि आज कांग्रेस सडकमा छ ।’

कांग्रेसका युवा नेता विकास केसीले अन्धो सरकारको जति निन्दा गरेपनि कम हुने बताए ।
उनले भने, ‘आज सरकारको अधिनायकबादतर्फ कांग्रेस सडकमा उत्रिएको छ, आन्तरिक कुरा नमिल्दा देश नै संकटमा पर्नुपर्ने अवस्था आउन नदिनका लागि कांग्रेसले सडकमार्फत आवाज उठाएको हो ।’
भागबण्डा नमिल्दा ‘म यहाँ छु’ भनेर सडकमा आउन सक्ने नेताले बलात्कारविरुद्ध, किसानका मागको सम्बोधन र जनताको हितका निम्ति कुना पस्ने गरेको उनको तर्क थियो ।
पार्टीका नेताहरु भ्रष्टाचार गर्दै गर्दा प्रचण्ड कुना पसेको र अहिले भागबण्डा नमिल्दा सडकमा आउनु अशोभनीय रहेको बताउँदै नेकपा नेताहरु सत्ताको मोहमा मात्र केन्द्रीत रहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला पार्टी सभापति राजीव कोइराला रहेका थिए भने क्षेत्रीय सभापति मणिराम श्रेष्ठको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेसका नेता रामबहादुर बस्नेत, राजन मेहता, नवोदिता चौधरी लगायतले सम्बोधन गरेका थिए ।














Discussion about this post