इटहरी : इटहरीमा नेकपा एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको आरोप लागेको छ ।
नेकपा एकीकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समूहले कुटपिट गरेको पीडित सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
‘बिहान ७ बजे म माथि आक्रमण भयो,’ उनले भने, ‘बाटोमा हिड्दै गर्दा आक्रमण भयो, आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज छ ।’
उनका अनुसार केहीबेर अघि मात्रै कैलाश विष्ट नाम गरेको फेसबुक आइडीबाट आफूलाई ज्यान मार्ने धम्कीसहितको म्यासेज समेत आएको छ ।
आफूमाथि कुटपिट भएपछि दोषीलाई कानूनी कारबाही गरिनुपर्ने उनको माग छ ।
सुवेदी नेकपा एमाले प्रदेश १ का सदस्य तथा निर्वाचन परिचालन कमिटिका सह–संयोजक हुन् ।
उनले आफूमाथि आक्रमण हुँदा गालामा चोट लागेको र ज्यान मार्ने धम्की आएपछि असुरक्षित महसुस भएको बताए ।
‘राजनीतिक विषयलाई लिएर आक्रमण गरियो,’ उनले भने, ‘के विषय थियो थाहा भएन, यसअघि मेरो दुश्मनी केही पनि थिएन ।’
सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व–पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रर्दशन गरिरहेका छन् ।
प्रर्दशनका कारण अहिले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्व भएको छ । अहिले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
भिडियो
Discussion about this post