इटहरी : इटहरीमा ट्रिपरको ठक्करबाट मृत्यु भएका कर्णबहादुर गुरुङको रातको १२ बजे मात्रै शव उठेको छ ।
आइतबार दिउँसो २ बजेर १० मिनेटमा इटहरी १ गंगामार्गमा प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ७२ वर्षीय गुरुङको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरी पोस्ट तरहराका प्रहरी हवल्दार भुवन बिकका अनुसार दुर्घटनामा मृत्यु भएको १० घण्टापछि मात्रै गुरुङको शव उठेको हो । आक्रोशित स्थानीयले १० घण्टासम्म सडक अबरुद्ध पारेकाले समस्या उत्पन्न भएको थियो ।
स्थानीयबासीले भने ट्रिपरले नियतबस रुपमा ब्याक गरेर मारेको र सो कुरा मुचुल्कामा उल्लेख नभएसम्म शव नउठाउने जिकिर गर्दै आएका थिए ।
‘ब्याक गरेर नियतबस रुपमै मारेको भन्ने मुचुल्का उठाएपछि मात्रै शव उठेको हो,’ विकले टाकुरासँग भने, ‘मुचुल्काको काम सकिएपछि शव धरानस्थित वीपी प्रतिष्ठान लगिएको छ ।’
मुचुल्कामा ट्रिपरले नियतबस रुपमै ब्याक गरेर मारेको र नियमअनुसार क्षतिपूर्ति पाउनुपर्ने भन्ने सहमति भएपछि शव उठेको प्रहरीले जनाएको छ । १२ बजे राति शव उठेपछि अबरुद्ध सडक सामान्य बन्दै गएको छ । सडक अबरुद्ध हुँदा यातायात सञ्चालनमा निकै कठिनाइ भएको थियो ।
आक्रोशित स्थानीयले एम्बुलेन्स बाहेक अन्य कुनै सवारी चल्न नदिदाँ यातायात असहज बनेको थियो ।
मुचुल्कामा भनिएको छ, ‘ट्रिपर चालकले ब्याक गरेर पटक–पटक किचेर मारेकाले शरीरका अंग क्षतबिक्षत अवस्थामा पुगेको छ, घटनास्थलमा देखिए बमोजिम लेखिएको मुचुल्का साँचो हो ।’

मृतक गुरुङले आफ्नो खुट्टामा मात्रै चोट भएको र ब्याक नगर्न आग्रह गर्दागर्दै पटक–पटक ट्रिपरले किचेको मुचुल्कामा उल्लेख छ ।
उता, ट्रिपर चालक इटहरी १९ का २९ वर्षीय अनिल चौधरीले भने आफूले सडकको पूर्वपट्टि बालुवा ‘अनलोड’ गर्नका लागि ब्याक गर्ने क्रममा ठक्कर भएको बताउँदै आएका छन् ।
यद्यपि, स्थानीय प्रत्यक्षदर्शीले भने चालकले ब्याक गरेर मार्दा समेत थाहा नभएको बताउनु हदैसम्म खेदजनक रहेकाले कडा कारबाही हुनुपर्ने माग राखेका छन् ।
हाल चालक चौधरीसहित ट्रिपर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीको गंगामार्गमा भयानक दुर्घटना, कर्णबहादुरको घटनास्थलमै मृत्यु
यो पनि – इटहरीका गुरुङको दुर्घटनामा मृत्यु भएको पाँच घण्टासम्म शव उठेन, सडकको दुवैतर्फ चक्काजाम














Discussion about this post