इटहरी : आइतबार ट्रिपरको ठक्करबाट मृत्यु भएपछि पीडितले इटहरीमा प्रदर्शन गरेका छन् ।
कोशी राजमार्गस्थित इटहरी १ मा प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ७२ वर्षीय कर्णबहादुर गुरुङको आइतबार घटनास्थलमै मृत्यु भएको थियो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार दिनभर स्थानीयले सडक अबरुद्ध गरेका थिए । दिनभर पीडित सहमतिमा नआएकाले रातको १२ बजे मात्रै मुचुल्कामा ‘ट्रिपर चालकले नियतबस रुपमा ब्याक गरेर मारेको’ भन्ने उल्लेख गरेपछि पीडितका आफन्तले शव उठाएका थिए ।
आइतबार राति मात्रै सहमतिमा आएका पीडितले सोमबार पनि इटहरीमा प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय अगाडि पीडितले टायर बालेर सडक अबरुद्ध पारेका छन् । ट्रिपर चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै राति मात्रै ट्रिपर चलाउन समेत पीडितको माग रहेको छ ।

ट्रिपर चालक इटहरी १९ का २९ वर्षीय अनिल चौधरीले ट्रिपर ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
मुचुल्कामा भनिएको छ, ‘ट्रिपर चालकले ब्याक गरेर पटक–पटक किचेर मारेकाले शरीरका अंग क्षतबिक्षत अवस्थामा पुगेको छ, घटनास्थलमा देखिए बमोजिम लेखिएको मुचुल्का साँचो हो ।’ मृतक गुरुङले आफ्नो खुट्टामा मात्रै चोट भएको र ब्याक नगर्न आग्रह गर्दागर्दै पटक–पटक ट्रिपरले किचेको मुचुल्कामा उल्लेख छ ।
प्रहरीका अनुसार आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । ट्रिपर सञ्चालक वार्तामा आउनुपर्ने र उचित क्षतिपूर्ति दिलाउनुपर्ने पीडितको माग छ ।
यो पनि – इटहरीको गंगामार्गमा भयानक दुर्घटना, कर्णबहादुरको घटनास्थलमै मृत्यु
यो पनि – इटहरीका गुरुङको दुर्घटनामा मृत्यु भएको पाँच घण्टासम्म शव उठेन, सडकको दुवैतर्फ चक्काजाम














Discussion about this post