इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका वडा नं. २ ले एक दर्जन बढी व्यक्तिहरुलाई सम्मान गरेको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन वडामा निर्वाचन पश्चात एक दर्जन बढी व्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पार्टीका लागि अहोरात्र खट्ने पूर्ण बहादुर ब्लोन, टीकाप्रसाद ओझा, जीवनाथ काफ्ले, छायाँदेवी भण्डारी लगायत रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् कांग्रेस नगर सभापति हेमकर्ण पौडेलले दोसल्ला ओढाएर सम्मान पत्रद्वारा गरेका थिए ।
पार्टीका लागि निरन्तर खटेर योगदान गर्नेहरुलाई सम्मान गरिएको कांग्रेस वडासभापति दीपेन्द्र घिमिरेले बताए ।
वडा कमिटिमा सभापति, उपसभापति र अन्य पदाधिकारी सर्वसम्मत चयन भएका थिए । यस्तै, सचिव पदका लागि निर्वाचन भएको थियो । साथै, वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि २७ जना चयन भएका छन् । १७ जना निविरोध चयन भए भने १० जना निर्वाचित भए ।
निर्वाचित हुने प्रतिनिधिहरुले जारी महाधिवेशनमा काँग्रेस एकढिक्का भएर अघि बढ्ने बताए । एकअर्कामा आरोप प्रत्यारोप गर्ने भन्दा आत्मालोचना गरेर कांगेसलाई सुदृढ बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
काँग्रेसको नगर अधिवेशन आगामी भदौ २७ गतेबाट हुँदैछ । इटहरीका विभिन्न वडाबाट निर्वाचित भएका ५ सय क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन् । वर्तमान सभापति पौडेलसहित, विकास केसी र प्रकाश बस्नेतले इटहरीको सभापतिमा उमेद्वारी दिएका छन् ।
Discussion about this post