इटहरी : इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार (आज) दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको हो ।
दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिक नम्बर तत्काल पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
अहिले घटनास्थलको सीसी क्यामेरा हेरेर घटनामा संलग्न म्याजिकको पहिचान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post