इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयमा देखिएको समस्या न्यूनीकरण गर्न बहस आवश्यक रहेको बताएका छन् ।
शनिबार इटहरीस्थित नेपाल जेसीजको आयोजनामा सुरू भएको ५१ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय वातावरण क्षेत्रमा समस्या आइरहेकोमा चिन्ता व्यक्त गरे ।
खासगरी वातावरणमा समस्या भइरहेपनि युवाहरूले यसको बहस नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरे । जेसीज सदस्यहरूले हिमालय समस्याका मुद्वा बहसमा आउन आवश्यक रहेको बताए ।
‘सबै कुरा चाहिने मानव जातिका लागि हो । हामीसँग हिमाल छ, हिमाल जोगाएन भने मौसम र वातावरण रहँदैन,’ ओलीले भने, ‘हिमालयका समस्याबारेका मुद्दा बहसमा आउन आवश्यक छ । धर्तीकै वातावरण रहेन भने के हुन्छ ? त्यसैले हाम्रो भविष्यप्रति सजगता हुनुपर्दछ ।’
उनले वातवावरणप्रति सजग हुनुपर्ने र समस्याको न्यूनीकरण गर्न अझै बहस आवश्यक रहेको बताए । उनले नेपालले समृद्वि हासिल गरिरहेको समेत बताए । प्रधानमन्त्री ओलीले युवाहरूमा असन्तुष्टि बढेको बताउँदै कहाँ के भएन भन्दापनि के हुुनपर्छ भन्ने सुझाव दिनसमेत आग्रह गरे ।
उनले एक फरक प्रसङ्गमा वर्तमान गठबन्धनको सरकार आगामी चुनावसम्मै जानेसमेत बताए । अबको डेढ वर्षपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनेसमेत उनले दोहोराए । ‘डेढ वर्षपछिको प्रधानमन्त्री देउवाजी नै हो, यसमा कुनै शङ्का छैन,’ उनले थपे ।
उनले युवाहरूलाई उत्प्रेरित गर्दै मानिसले आफूमा घमण्ड पाल्न नहुनेसमेत जिकिर गरे ।
‘आफूमा घमण्ड पस्न नदिनुहोस् घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ,’ उनले भने, ‘मानिसमा ज्ञान पनि छ, बुद्वि पनि छ । तर मति भएन भने मतिभ्रष्ट हुन्छ । त्यसैले मानिसमा मति हुनुपर्छ ।’
जेसीजले मर्यादित र शिष्टता सिकाउने गरेको भन्दै प्रशंसासमेत गरेका थिए । शनिबार नै ध्यान दिवस परेको स्मरण गर्दै प्रधानमन्त्री अोलीले मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक रहेकोसमेत बताए ।
‘मानिस शारीरिक सुगठनका लागि जिम जान्छ । तर, मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक छ,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘जेसीजले युवा उमेरमा सक्षम बनाउन, उद्यमशीलताको विकास गर्न र रोजगारी बनाउन अभिप्रेरित गर्दछ । म प्रशंसा गर्न चाहन्छु । जेसीजले राम्रा कामको प्रकाश छरिरहेको छ ।’
उनले नेपालले समृद्वि हासिल गरिरहेकोसमेत बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, इटहरी उपमानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायतले बोल्दै युवाहरूलाई दक्ष र सक्षम बनाउन जेसीजको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । पछिल्लो समय युवाहरूमा निराशा देखिएको बताउँदै उनीहरूले युवाका लागि देशमै रोजगारीको अवसर हुनेसमेत दाबी गरे ।
खासगरी जेसीजले नेपथ्यमा बसेर नेतृत्व चुन्ने भन्दा पनि अग्रपंक्तिमा आएर सामाजिक काम गर्नुपर्ने वक्ताहरूले बताएका थिए ।
पछिल्लो समय आम मानिसमा निराशा छाएकाले राजनीतिक नेतृत्वमाथि हिलो छ्याप्ने काम भन्दापनि राष्ट्रको भविष्यको चिन्ता गर्दै युवाहरूले नयाँ योजना ल्याउनुपर्ने बताए । युवा विचार र चिन्तनले हुने कुरासमेत उदृत गरिएको थियो ।
पुस ८ गतेसम्म सञ्चालन हुने महाधिवेशनले सन् २०२५ का लागि राष्ट्रिय पदाधिकारीसमेत चयन गर्नेछ । महाधिवेशन निर्देशक दीपक ढकालका अनुसार नेपालभरीका एक सय ७८ शाखाबाट जेसीज सदस्यहरू सहभागी छन् ।
महाधिवेशनमा कुल एक हजार दुई सय ४६ मतदाताले पुस ८ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । त्यसबाहेक अरू नेतृत्व विकासलगायतका विभिन्न तालिमहरू सञ्चालन हुने जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलले बताए ।
सन् १९६४ मा डा. भेखबहादुर थापाले नेपाल जेसीजको स्थापना गरेसँगै यहाँ १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूले नेतृत्व विकास गर्दै आएका छन् ।
Discussion about this post