इटहरी : इटहरीमा मोटरसाइकल र स्कुटर एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
इटहरी १३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।
‘दुर्घटनामा टाउकोमा गम्भीर चोट थियो, उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा साँझ ६ बजेतिर मृत्यु भएको हो,’ डीएसपी भण्डारीले भने, ‘घाइते भएका तीनजनाको उपचार भइरहेको छ ।’
उनका अनुसार साँझ ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रिजाललाई उपचारका लागि तत्कालै विराटमा पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी भण्डारीले बताए ।
सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ ।
घाइते रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक गोपाल र बबिता ससुरा–बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले जानकारी दिए ।
यसैगरी मोटरसाइकल चालक कोसी गाउँपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडि सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन् । उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।
आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
के कारण दुर्घटना भएको भन्नेबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Discussion about this post