इटहरी : इटहरीमा जारी नाटक ‘रिफन्ड’ को मंगलबार अन्तिम सो थियो । पाँचदिनसम्म चलेको नाटक बीचको समयमा नहेरेका प्राध्यापक, लेखक तथा कलाकारहरू मंगलबार हेर्न आइपुगेका थिए ।
कतिपय लेखहरूले भने यसअघि नै नाटक हेरिसकेपछि शैक्षिक क्षेत्रमा भएको चरम विकृतिको नाटकमार्फत भत्सर्ना गरिएको प्रतिक्रिया दिए ।
विराटनगर निवासी चर्चित कवि सुमन पोखरेलले नाटक ‘रिफन्ड’ हेरिसकेपछि छोटो प्रतिक्रिया दिँदै भने, ‘धेरैपछि इटहरीमा नाटक हेँरे, केही सुधार गर्नुपर्ने पक्षहरू होलान् । तर, जति बनेको छ एकदम राम्रो छ ।’
कक्षा ११ मा रहेको अंग्रेजी विषयमा अध्यापन हुँदै आएको नाटक ‘रिफन्ड’ फ्रीन्ज केरिन्थीले लेखेका हुन् । उक्त नाटक प्रजल दुलालले अनुवाद तथा निर्देशन गरे ।
कलालय इटहरीले प्रस्तुत गरेको नाटकमा सुष्मा भट्टराई, हिमा पौडेल, मनिल न्यौपाने, विकास श्रेष्ठ, करण प्याकुरेल, हिमाल निरौला, प्रजल दुलाल, डेबिड बिष्ट, विनय कोइराला, जीवन बस्नेत र मुना भट्टराईको अभिनय छ ।
इटहरी निवासी कलाकार तथा मूर्तिकार विक्रमश्री ले शैक्षिक क्षेत्रमा भइरहेको व्यवसायीकरणलाई ज्वलन्त ढङ्गबाट प्रस्तुत गरिएको बताए । ‘प्रस्तुतिकरण काव्यिक ढङ्गबाट अभिव्यक्त भएको छ,’ उनले भने, ‘नाटकले हृदय छोयो ।’
‘कता जाऔँ म, खै कहाँ जाऔँ
कति भीडौँ, कति दगुरौँ ?’
बेलाबेला नाटकको बीचमा बजेको गीतले दर्शकको ध्यान खिच्थ्यो । निजी विद्यालयमा अध्ययन सकेपछि जागिर पनि खान नसक्दा घर, समाजबाटै अपहेलित भएर बाँच्नुपरेको दृश्यलाई नाटकमा प्राथमिकता दिइएको छ ।
विराटनगर निवासी कवि सीमा आभासले नाटक घर नभएकै अवस्थामा पनि स्थानीय कलाकारहरूले मिहिन ढङ्गबाट नाटक प्रस्तुत गरेको बताइन् । उनले भनिन्, स्थानीय सरकारले एउटा नाटक घरको लागि किन पहल नगर्ने ? नाटकघरका लागि सम्पूर्ण इटहरीबासीले पहल गर्नुपर्छ ।’
इटहरीको जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा. गीता अधिकारी नाटक जीवन्त रहेको बताउँछिन् ।
‘विद्यालयमा कयौँ लगानी गरेर पढिसकेपछि यसबाट के प्राप्त ग¥यो भन्ने सन्देश दिएको छ,’ उनी भन्छिन्, ‘निजी विद्यालयमा छोराछोरी पढाएर उनीहरूले के प्राप्त गर्ने भन्ने विषयको उठान हुनु सान्र्दभिक छ ।’ उनले नाटकमार्फत व्यवहारिक शिक्षाको पनि आवश्यकता रहेको सन्देश दिने बताइन् ।
कवि, चित्रकार वा गायक बन्ने सपना भएपनि निजी विद्यालयमा भर्ना भएपछि सपना मारिने र जबरजस्ती किताब भिराइदिने दृश्यले आम दर्शकको मन तान्छ ।
इटहरी निवासी कवि बद्री भिखारी भन्छन्, ‘निजी विद्यालयले अंक र प्रमाणपत्रलाई मात्रै महत्व दिन्छ, त्यसका लागि कडा व्यङ्य छ ।’ उनले नाटक मनपरेकै कारण आफूले तीनपटकसम्म हेरेको बताए । भने, ‘जति हेरेँ, उति हेरौँहेरौँ लाग्यो मलाई, सायद नाटक हेरेर मैले ह्याट्रिक पूरा गरेँ ।’
जनता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा.डा. टोलानाथ काफ्लेले नाटकमा थोरै समय भएपनि जीवन्त कुरा रहेको बताए । ‘नाटक सूचनामुलक र सन्देशमुलक छ,’ उनले भने ।
निजी विद्यालयले प्रमाणपत्र मात्रै हातमा थमाइदिने भएकाले व्यवहारिक शिक्षा पनि आवश्यक छ भन्ने उदाहरण दिनका लागि आफूहरूले कथालाई नाटकमा रुपान्तरण गरेर प्रस्तुत गरिएको निर्देश दुलाल बताउँछन् ।
‘हाम्रो शिक्षाको क्षेत्र कस्तो छ, कति व्यवहारिक छ भन्नेबारे र हामीले पाएको शिक्षाको सिस्टमलाई नाटकमार्फत प्रस्तुत गरिएको हो,’ दुलाल भन्छन् ।
करीब १५ वर्षअघिदेखि नाटक क्षेत्रमा काम गर्दै आएका कलालय इटहरीका अध्यक्ष समेत रहेका सोनु जयन्तीले पछिल्लो पुस्तालाई नाटकमा अभ्यस्त बनाउनका निम्ति आफूहरूले नाटकको अभियान नै सञ्चालन गरिराखिएको बताए ।
‘अहिलेको टिमले नाटकमा अभ्यास गरिरहेको छ, इटहरीमा नाटक गर्नका लागि समस्या छ,’ उनले भने, ‘हामीसँग नाटक गर्नका लागि हल छैन, प्राविधिक हिसाबमा हामी निकै कमजोर छौँ ।’ उनले इटहरीमा आफ्नै नाटक घर हुँदा अझै व्यवस्थित ढङ्गले नाटक गर्न सकिने बताए ।
भिडियो
Discussion about this post