विराटनगर : विराटनगरमा औषधि बेचबिखनमा हेलचेक्य्राइँ गर्ने फार्मेसीमा सिल गरिएको छ।
औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख टेकेन्द्र मिश्रका अनुसार औषधि व्यवस्था विभाग विराटनगरले मोरङको कटहरी गाउँपालिका ३ मा रहेको रोविता मेडिकल हल र विराटनगर महानगरपालिका ७ मा रहेको यादव फार्मेसीमा आज (आइतबार) सिल गरेको हो ।
यादव फार्मेसी कोसी अस्पतालको गेटै अगाडि सञ्चालित छ । त्यस्तै विराटनगर १० स्थित न्यूरो अस्पतालनजिकको प्रबल फार्मेसीलाई औषधिको बेचबिखन तत्कालका लागि बन्द गर्न विभागले निर्देशन दिएको छ ।
औषधि बेचबिखनमा हेलचेक्य्राइँ गरेको पाइएपछि कारबाहीको दायरामा ल्याउन फार्मेसीमा सिल गरिएको मिश्रले बताए ।
सिल गरिएका र औषधि बेचबिखनमा रोक लगाइएका फार्मेसीमाथि थप अनुसन्धानपछि कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
औषधि पसल चलाउने नाममा मान्छेको जीवनमाथि खेलवाड गर्ने फार्मेसीका सञ्चालकलाई कारबाही गर्नुको विकल्प नरहेको मिश्रले बताए ।
‘फार्मेसी सम्बन्धी ज्ञान नभएका व्यक्तिले बेच्दा बिरामीलाई गलत औषधि पर्नसक्छ । त्यस्ता व्यक्तिले चिकित्सकको सिफारिस बुझ्दैनन्,’ उनले भने, ‘बिरामीलाई पनि औषधिका बारेमा बुझाउन सक्दैनन् । अर्कोतर्फ परामर्श बिना औषधि लगेर गलत तरिकाले प्रयोग गर्दा बिरामीको ज्यान जान सक्छ ।’
Discussion about this post