इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने चतरास्थित कोसी नदीमा झापाका एक व्यक्ति ‘आफ्नो परिवारलाई नखोज्नु’ भन्दै बेपत्ता भएका छन् ।
झापा बुद्धशान्ति गाउँपालिका १ का ६२ वर्षीय भैरवप्रसाद गौतमले आफ्ना छोरालाई जानकारी गराउँदै बेपत्ता भएका हुन् । उनी पुस १३ गतेदेखि घरबाट चियाको व्यापारका लागि पश्चिमतिर हिँडेका परिवारले जनाएको छ ।
परिवारका अनुसार सोमबार (आज) बिहान ३ः१० बजेतिर फोनसम्पर्क गरी ‘म इच्छा मरण गर्दै छु, मलाई नखोज्नू, तँ राम्रोसँग गर, मलाई आमाहरूसँग नजोड्नू’ भन्दै बेपत्ता भएका हुन् ।
बेपत्ता भएका गौतमको कपडा, जुत्ताहरू कोसी किनारमा फेला परेको जेठा छोरा हेमराज गौतमले बताए । उनी ३५ वर्षदेखि चियाको व्यापार गर्दै आएका थिए ।
बेपत्ता रहेका गौतमको अहिले सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post